९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु



अ+ अ-

हेरात । अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए । उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुबाहक बसले ठक्कर दिएको बताए । उक्त घटनामा अरु १० जना सख्त घाइते भएका छन् ।

फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले बम निकै शक्तिशाली भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउनुभयो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

राष्ट्रसंघले मंगलबार मात्र सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०१९ का छ महिनाको अवधिमा समग्रमा व्यक्ति हत्याको संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृत्यु बढी भएको उल्लेख छ । चालू वर्ष २०१९ का छ महिनामा एक हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई हजार ४४६ जना घाइते भएका छन् ।

समग्र सर्वसाधारणको मृत्युमध्ये पनि एक तिहाई बालबालिकाको रहेको छ । राष्ट्रसंघका अनुसार तालिबानका कारण भन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ । राष्ट्रसंघले हिंसा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर गरेको छ ।

आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिंसा अझ बढ्ने अनुमान गर्न थालिएको छ । चुनावमा अफगानिस्तानका प्रमुख विद्रोही शक्तिहरु तालिबान समूह र इस्लामिक स्टेटको पूर्ण विमती रहेको छ ।

औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । तालिबान समूहका आत्मघाती आक्रमणकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आक्रमण गरेका थिए ।

राष्ट्रपतिको चुनाव हुनुअघि नै तालिबान समूहसँग शान्ति सम्झौता गर्ने तयारी अमेरिकाको छ, तर कतारमा महिनौंदेखि जारी अमेरिका र तालिबानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।