२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दशकमा व्यापार घाटा ६ गुणा बढ्यो, जिडिपीको ४० प्रतिशत



अ+ अ-

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । संघीय सरकारले आव ०७५/७६ मा ल्याएको बजेटभन्दा देशले व्यहोरेको व्यापार घाटा बढी भएको हो । सरकारले उक्त आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, सोही आवमा नेपालले कुल १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यसलाई आधार मान्दा पनि संघीय सरकारले ल्याएको बजेटभन्दा देशको कुल व्यापार घाटा ६ अर्ब २६ करोडले बढी देखिन्छ । तर, अर्थमन्त्री डा। युवराज खतिवडाले मध्यावधि समीक्षामार्फत आव ०७५/७६ को बजेटलाई घटाएर ११ खर्ब ११ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा २ खर्ब १० अर्बले बढी देखिन्छ ।

गत आवमा नेपालको वैदेशिक व्यापार १४.६ प्रतिशतले बढेर १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल आयात १३.९३ प्रतिशतले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने निर्यात १९.३६ प्रतिशतले बढेर ९७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । नेपालको अर्थतन्त्र (जिडिपी)को आकार ३४ खर्ब रुपैयाँबराबरको पुगेको छ । सोअनुसार नेपालले व्यापार घाटा कुल जिडिपीको एकतिहाइ नाघिसकेको छ ।

जति प्रयास गर्दा पनि १ खर्ब पुगेन निर्यात
नेपालले निर्यात १ खर्ब कटाउने लक्ष्य लिएको दशकौँ भइसकेको छ । तर, जति प्रयास गर्दा पनि सो लक्ष्य भेट्न सकेको छैन । गत आवमा निर्यात वृद्धि सन्तोषजनक देखिँदा पनि जम्मा ९७ खर्बको मात्र निकासी हुन सक्यो । अर्थमन्त्री डा. खतिवडाले ०७५/७६ मा उद्योग वाणिज्यका लागि कुल १० अर्ब ४४ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गर्दै उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनको लक्ष्य लिएका थिए । उनको लक्ष्यअनुसार सरकारले आयात प्रतिस्थापन गर्न नसके पनि निर्यात प्रवद्र्धनमा भने झिनो उपलब्धि हासिल गरेको छ । यस अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ४.५१ प्रतिशतले बढेर ६.४ प्रतिशत पुगेको भन्सार विभागको तथ्यांक छ ।

घाटा बढेको बढ्यै, निर्यात वृद्धि सुस्त
पछिल्ला दश वर्षमा नेपालको व्यापार घाटा ६ गुणाले बढेको देखिएको छ । वैदेशिक व्यापारसँगै आयातको वृद्धिदर उच्च हुँदा निर्यात वृद्धि भने सुस्त भएको देखिन्छ । जसका कारण व्यापार घाटा चुलिएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०६५/६६ मा नेपालको व्यापार घाटा २ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । आव ०७५/७६ मा आइपुग्दा व्यापार घाटा करिब ६ गुणाले बढेर १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

आव ०६५/६६ मा नेपालको वैदेशिक व्यापारको आकार ३ खर्ब ४९ अर्ब रुपैयाँको थियो । आव ०७५/७६ मा आइपुग्दा कुल वैदेशिक व्यापार झन्डै ५ गुणाले बढेर १५ खर्ब १५ अर्ब रुपैयाँबराबरको पुगिसकेको छ । सोही अवधिमा नेपालको आयात पनि करिब ५ गुणाले बढेर १४ खर्ब १८ अर्ब पुगिसकेको छ । तर, निर्यात भने दोब्बर पनि हुन सकेको छैन । आव ०६५र६६ मा नेपालले ६५ अर्ब रुपैयाँको निर्यात गरेको थियो । समीक्षा आवमा आइपुग्दा निर्यात भने डेढ गुणाले बढेर ९७ अर्ब रुपैयाँ पुगेको छ । बढ्दो व्यापारमा आयातको तुलनामा निर्यात वृद्धि सुस्त हुँदा नेपालको व्यापार घाटा ६ गुणाले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालले निर्यातको उपयुक्त नीति बनाउन सकेन : डा. पोषराज पाण्डे

कार्यकारी अध्यक्ष, साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)

नेपालको उत्पादन क्षमता नै कमजोर छ । त्यसो हुँदा नेपालले निर्यात गर्न सक्ने गरी कुनै पनि वस्तुको बचत गर्न सकेको छैन । त्यही भएर परम्परागत वस्तुहरूको सीमित निर्यातमा खुम्चिनुपरेको छ ।

निर्यातयोग्य वस्तुको विविधीकरण हुन सकेको छैन । यसका लागि नेपालले उपयुक्त नीति पनि बनाउन सकेको छैन । लामो समयदेखि नेपाल र भारतको मुद्राको विनिमयदर स्थिर गरिएको छ । एक भारतीय रुपैयाँको तुलनामा १ दशमलव ६ नेपाली रुपैयाँमा विनिमयदर पेग गरेर राखिएको छ ।

त्यसो हुँदा भारतीय बजारमा नेपाली सामान महँगो भइरहेका छन्, जसले गर्दा नेपाली सामानको प्रतिस्पर्धी क्षमता नै कमजोर बनेको छ ।

व्यापार घाटाका परिणाम
निर्यातभन्दा आयातको मात्रा बढेको अवस्थामा व्यापार घाटा सिर्जना हुन्छ । आयातको मात्रा त्यतिखेर अत्यधिक हुन्छ, जब कुनै देशको आन्तरिक उत्पादनको अवस्था कमजोर हुन्छ र उपभोग्यदेखि विलासी वस्तुसमेत आयात गर्नुपर्ने अवस्था आउँछ ।

नेपालको अवस्था अहिले ठ्याक्कै त्यस्तै छ । नेपालको आन्तरिक उत्पादनको क्षमता एकदम कमजोर छ । सबै कुरा आयातमा निर्भर रहनुपर्ने अवस्था छ । आयात बढ्दै जाँदा मुलुकसँग भएको रुपैयाँ बिदेसिन्छ । यसले आफ्नो देशको मुद्रा कमजोर बन्छ । अन्ततः मुद्रास्फीति निम्त्याउँछ ।

व्यापार घाटा हुनु मुलुकका लागि सुरु–सुरुमा नराम्रो मानिँदैन । विदेशबाट आयात गर्नुपर्ने भएकाले मुलुकका नागरिकको खरिद क्षमता बढेको भान हुन्छ । विलासिताका वस्तु आयात बढ्दो मात्रामा हुँदै गर्दा आफ्ना नागरिक धनी बनेझैँ लाग्छ । तर, दीर्घकालीन अवस्थामा भने यसले ठूलो असर असर गर्छ । व्यापार घाटाले खास गरी चार क्षेत्र मुद्रास्फीति, बेरोजगारी, विदेशी लगानी र ब्याजदरमा असर गर्छ ।

स्थानीय उत्पादन भएकैले आयातमा निर्भर रहनुपरेको हुन्छ । आन्तरिक उत्पादन नहुनु भनेको उत्पादन क्षेत्रमा लगानी नहुनु हो । यसले लगानी आकर्षण गर्दैन भने रोजगारको अवसर पनि वञ्चित गरिरहेको हुन्छ । रोजगारीका लागि आफ्ना नागरिक बिदेसिनुपर्ने अवस्था आउँछ ।

औद्योगिक क्षेत्रमा लगानी नहुँदा ब्याजदरमा असर गर्छ । विदेशी लगानी भित्रिँदैन । लगानीको ब्याजदरमा उत्साह नहुँदा निक्षेपमा पनि असर गर्छ । आफ्नो देशको रकम आयातमा खर्च गर्नुपर्ने अवस्थाले भुक्तानी असन्तुलन निम्त्याउँछ । जसका कारण मुद्रास्फीतिको चरम मार खेप्नुपर्ने हुन सक्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।