१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारमा ठगी दुई हजार ३९ वटा उजुरी



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ । यसरी ठगीमा पर्ने कति छन् भन्ने आधिकारिक तथ्याङ्क कसैसँग छैन ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका दुई हजार ३९ वटा उजुरी परेका छन् । जसमा एक हजार २६३ वटा संस्थागततर्फ (म्यानपावर कम्पनी)का छन् भने ७७६ वटा व्यक्तिगततर्फका रहेका छन् । यो आर्थिक वर्षभरिमा म्यानपावर कम्पनीविरुद्ध मात्र २९ करोड ६३ लाख २० हजार भन्दा बढी रकम मागदाबी गरिएको छ भने व्यक्तिगततर्फ झन्डै ५३ करोड ६७ लाख २९ हजार रुपियाँ मागदाबी भएको छ ।

एउटै कम्पनीविरुद्ध ३१ पटकसम्म उजुरी
वैदेशिक रोजगारीको क्रममा ठगी गरेको, विदेश पु¥याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत विभिन्न विषयमा गएको असार महिनामा मात्रै १४२ उजुरी परेका छन् । उजुरीमा ९५ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्धका छन् । यस अवधिमा काठमाडौँको एट्लास ओभरसिज इम्प्लोएमेन्ट नामक म्यानपावर कम्पनीविरुद्ध नौ पटकसम्म उजुरी परेको पाइएको छ । त्यसो त जेठ महिनामा काठमाडौँकै पर्पल एच.आर. सर्भिस प्रा.लि नामक म्यानपावरविरुद्धमा ३१ वटा उजुरी परेका थिए ।

महानिर्देशक भीष्मकुमार भुसालले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, संस्थागत उजुरीमा प्रमाण भएमा कारबाही गर्न सकिन्छ र धेरैलाई कारबाही भएको छ तर व्यक्तिगत उजुरी अदालतमा जाने हुनाले यसको प्रक्रियामा पनि लामो भएकाले समय लाग्छ ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेँ भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका महानिर्देशक भुसालले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताउनुभयो ।

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा कन्सल्टेन्सीबाट ठगिएका बढी हुने गरेको उहाँको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने श्रमिकका भन्दा अमेरिका, क्यानडा, पोर्चुगाल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेकोे छ ।

अदालतमा १८६ वटा मुद्धा दायर
विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १८६ मद्दा अदालतमा दायर भएका छन् । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ । व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा २२ करोड बढी रकम बिगो दाबी गरिएको छ ।

ठगी नियन्त्रणमा कार्यविधिले सहयोगी हुने
सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यका साथ आकस्मिक तथा नियमित अनुगमन गर्ने व्यवस्थासहितको ‘अनुगमन टोली परिचालन कार्यविधि २०७६’ कार्यान्वयनमा ल्याएको छ । उक्त निर्देशिकामा भएको व्यवस्थाअनुरूप अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ ।

कार्यविधिले वैदेशिक रोजगार विभागको महानिर्देशकको निर्देशन वा प्रत्यक्ष रेखदेखमा आकस्मिक तथा नियमित अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । विभागका महानिर्देशक भुसालले वैदेशिक रोजगारका नाममा हुने ठगीको अनुगमन गर्ने अधिकार विभागको भए पनि स्पष्ट कार्यविधि नहुँदा कन्सल्टेन्सीसँग जोडिएका ठगीको अनुगमन गर्न समस्या थियो र कार्यविधि कार्यान्वयनमा आएसँगै त्यसको अनुगमन गरेर कारबाही प्रक्रिया बढाउने बाटो खुलेको पनि जानकारी दिनुभयो । कार्यविधि कार्यान्वयनमा आएसँगै विभागले कुनै पनि समय वा दिन (शनिबार, बिदाको दिन) समेत आकस्मिक तथा नियमित अनुगमन गर्न सक्नेछ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।