२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको समृद्धि सपना : ‘दमकमा मात्रै दर्जन परियोजना’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् ।

ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ ।

१५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ति निर्माण गर्न लागिएको हो । यसका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । थप २० बिघा जमिन प्राप्त गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको छ । सघन सहरी विकास मन्त्रालयले करिब ३ अर्बको लागतमा सुविधासम्पन्न टावर निर्माण गर्न लागेको हो । यसको ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । ५ बिघा क्षेत्रफलमा निर्माण हुने ७२ मिटर अग्लो १८ तले भ्यु टावरमा २८ मिटर स्टिल टावर रहने जनाइएको छ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । प्रधानमन्त्री ओलीले ०७३ जेठ २८ गते टावर शिलान्यास गरेका थिए ।

दमकमै सभागृह, सपिङ कम्प्लेक्स, बहुतलीय बस पार्क, रोज गार्डेन पार्क, संग्रहालय, पुल, विश्व बैंकको सहयोगमा सडक, प्राविधिक शिक्षालयलगायत पनि निर्माण हुने भएका छन् । वडा नं. ९ मा सहरी विकास मन्त्रालयको लगानीमा प्रदेश १ कै ठूलो सभागृह बनाइँदै छ । एक बिघा १२ कट्ठा जमिनमा करिब दुई हजार मानिस अट्ने सभागृहको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ०७७ सालमा निर्माण सक्ने गरी काम अघि बढाइएको नगरपालिकाले जनाएको छ । डाँफे–एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले झन्डै २९ करोड रुपैयाँमा ठेक्का लिएर निर्माण गरिरहेको छ ।

नगरपालिकाले वडा नं. ७ हाटखोलामा सुविधासम्पन्न सपिङ कम्प्लेक्स निर्माण गर्ने योजनासमेत अघि बढाएको छ । स्थानीय आदिवासी पदम माझीले आफ्नो निजी जमिन भनी दाबी गरेको करिब ११ कट्ठा जमिनमा अन्डरग्राउन्ड पार्किङसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने योजना अघि सारेको हो । वडा नं. ६ मा रहेको दमक बस पार्कलाई ‘बहुतले’ बनाउने योजना पनि अघि सारिएको छ ।

सहरी विकास मन्त्रालयको लगानीमा करिब दुई बिघा क्षेत्रफलमा बहुतलीय बसपार्क बनाइने प्रशासकीय अधिकृत तिम्सिनाले बताए । प्रदेश सरकारको सहयोगमा दमक–३ मा भुटानी शरणार्थीको सम्झनामा संग्रहालय निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।

दमकमा विश्व बैंकले करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ अन्तर्गत दमक–ताराबारी, चियाबगान–अडियामल–ढुंगे र हिमावी–ढुकुरपानी–गोलाटार सडक निर्माण गर्ने भएको छ । एक अर्ब ३७ करोडको लागतमा नगरभित्र महत्त्वपूर्ण चारवटा पुल निर्माणाधीन छन् । दमकदेखि इलामको चुलाचुली जोड्ने तथा कमल गाउँपालिका र गौरादह नगरपालिका जोड्ने गरी रतुवा खोलाका दुई स्थानमा र मोरङको मधुमल्ला तथा आमबाडी जोड्ने गरी मावा खोलामा पनि दुई ठाउँमा पुल निर्माण भइरहेका छन् ।

विश्व बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल लाइभस्टक इन्नोभेसन सेक्टर प्रोजेक्टको संयुक्त लगानीमा दमकमा सुविधा सम्पन्न पशुपन्छी बजार निर्माण गरिएको छ । नगरपालिकाको स्वामित्वमा रहेको झन्डै ३ बिघा जमिनमा १५ करोड रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण गरिएको हो । ०७३ पुसमा शिलान्यास भएको पशु बजार गत चैतमा निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । तर, पशु बजार सञ्चालनमा आएको छैन ।

नगरको रिङरोड निर्माण कार्य पनि जारी छ । संघीय सरकारको बजेटमार्फत निर्माणाधीन ३६ दशमलव ४ किलोमिटर लामो रिङरोडले नगरका सबै वडालाई जोड्ने छ । वडा नं १० मा विज्ञान पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । पार्क ५ बिघा जमिनमा बनाउने नगरपालिकाले जनाएको छ ।

यसमा करिब दुई अर्ब बजेट आवश्यक पर्ने बताइएको छ । नगरको मुख्य बजार क्षेत्रमा करिब एक करोड २५ लाख लागतमा नमुना मार्ग निर्माण गरिएको हो । वडा नं. ४ मा प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापनाको गृहकार्य भइरहेको छ । यसका लागि नगरपालिकाले तीन बिघा जमिन प्राप्त गरिसकेको छ । वडा नं. ७ मा करिब ४० लाख रुपैयाँको लागतमा ‘रोज गार्डेन पार्क’निर्माण हुने भएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।