काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण र सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको र हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने भएकाले नेपाल थप जोखिममा रहेको बताउनुभएको हो ।
भण्डारीले हिमाली क्षेत्रमा दोहोरिइरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणका लागि गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएको बताउनुभयो । उहाँले विपद् आएपछि उद्धार र राहतमा मात्रै सीमित नभई भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना र पूर्वतयारी आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “आज तापक्रमको असन्तुलित वृद्धिले विश्व नै गम्भीर चुनौतीको सामना गरिरहेको छ । हाम्रो देश नेपाल हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने हुँदा हामी झन् गम्भीर संकटमा छौँ । त्यसैले हिमाली क्षेत्रमा दोहोरिरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइरहेको छ ।”
भण्डारीले वातावरण संरक्षणसँगै सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका चुनौती सामना गर्न विपद्पछिको व्यवस्थापनभन्दा जोखिम न्यूनीकरण र भविष्यमा हुन सक्ने क्षति रोक्ने उपायमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
यसका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य तथा समन्वय अपरिहार्य रहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार भएर दीर्घकालीन रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








