सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिएर आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो ।
आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटको आकार अघिल्लो सरकारले ल्याएको बजेटकै बराबर छ ।बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।
यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ तथा आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रकम नौ अर्ब ६५ करोड रुपैयाँ बजेटको स्रोतका रूपमा रहनेछ ।
सरकारले ससर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान पनि गरेको छ ।यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । तर, सत्ता गठबन्धनमा परिवर्तन आएपछि उक्त बजेट पारित हुन सकेको थिएन ।
त्यसपछि असार २९ गते नेकपा (एमाले)को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । सरकार परिवर्तनसँगै बजेट पारित हुन नसक्दा प्रदेशमा करिब दुई महिनासम्म बजेट शून्यताको अवस्था सिर्जना भएको थियो ।
नयाँ बजेट प्रस्तुत भएसँगै प्रदेशको बजेटसम्बन्धी अन्योल हट्ने अपेक्षा गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख भण्डारीले अर्को बैठक ३० मिनेटपछि बस्ने जानकारी गराउनुभएको छ ।








