धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएर अवरुद्ध बनेको राजमार्ग खुलाउन आइतबार बिहानैदेखि काम भइरहेको छ । सडकमा ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम तीव्र पारिएको छ ।
नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएर चर्किएको प्रारम्भिक अनुमान छ । उनका अनुसार सडक करिब ८० मिटर चर्किएको छ । सडकको ग्रेड र मोड मिलाउन चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गर्नुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ ।
राजमार्ग खुलाउन १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ । छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर प्रयोग गरेर कटिङको काम भइरहेको छ । ठेकेदार, परामर्शदाता तथा आयोजना कार्यालयका प्राविधिक र कर्मचारी कार्यस्थलमा खटिएका छन् ।
आयोजना प्रमुख अधिकारीले सम्भव भएसम्म आइतबार साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको बताए । साँझसम्म काम सम्पन्न हुन नसके जेनेरेटर र फ्लडलाइटको व्यवस्था गरेर भए पनि कामलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
निर्माण व्यवसायी शहदेव खड्काका अनुसार सडक खुलाउने काममा हेभी इक्विपमेन्ट, करिब १० वटा टिप्पर र इन्जिनियरसहित ७० देखि ८० जना जनशक्ति परिचालन गरिएको छ । बिहानैदेखि ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको उनले बताए ।
खड्काका अनुसार शनिबारदेखि नै काम गर्ने तयारी भए पनि ग्यास बुलेटमा भएको लिकेजको घटना र राति परेको पानीका कारण जोखिम बढेपछि कटिङको काम अघि बढाउन कठिनाइ भएको थियो । अहिले शाखा सडकको मर्मतसम्भारसँगै राजमार्ग खुलाउने कामलाई प्राथमिकता दिइएको उनले बताए ।
ब्याक कटिङ र माटो हटाउने काम सकिएपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाउने योजना रहेको खड्काले जानकारी दिए । मौसम अनुकूल रहेमा छिट्टै यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
यसैबीच, नेपालीहरूको महान् चाड विजयादशमीका बेला यात्रुहरूले सास्ती भोग्न नपरोस् र यातायात आवागमन सहज बनाउन सकियोस् भन्ने उद्देश्यले सडक खुलाउने कामलाई तीव्रता दिइएको निर्माण व्यवसायीले बताएका छन् ।
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको गलौँदी खण्डमा सडक चर्किएर भासिएपछि दुवैतर्फको यातायात अवरुद्ध भएको छ । सडक पुनः सञ्चालनमा नआउँदासम्म उक्त खण्ड हुँदै यात्रा गर्ने यात्रु प्रभावित भएका छन् ।








