गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले व्यावसायिक तरकारी खेतीमा क्षति पुर्याएको छ । हुरीले करिब चार सयमध्ये ८० वटा टनेलमा क्षति पुर्याउँदा गोलभेँडालगायतका तरकारीमा ठूलो नोक्सानी भएको हो ।
सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि त्यसभित्र लगाइएको गोलभेँडा तथा अन्य तरकारीमा क्षति पुगेको हो । टनेलमा किसानले गोलभेँडासँगै बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च र तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।
किसानका अनुसार एउटा टनेलबाट चारदेखि पाँच क्विन्टलसम्म गोलभेँडा उत्पादन हुने गरेको छ । टनेलको प्लास्टिक च्यातिँदा उत्पादनमा प्रत्यक्ष असर परेको छ । ठूलोलुम्पेक क्षेत्रमा अन्य तरकारीको तुलनामा गोलभेँडा उत्पादन बढी हुने गरेको छ ।
हुरीका कारण रु आठ लाखभन्दा बढी मूल्य बराबरको गोलभेँडामा क्षति पुगेको वडाध्यक्ष मगरले बताउनुभयो । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि ६० सम्म र थोकमा रु ३५ देखि ४० सम्म बिक्री हुँदै आएको छ । माग उच्च भए पनि पछिल्लो समय मागअनुसार उत्पादन गर्न नसकिएको उहाँले बताउनुभयो ।
ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस र चेतमान राहडीलगायत किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी स्थानीय बजारका साथै बुटवलसम्म बिक्रीका लागि पठाउने गरिएको छ ।
वर्षाका कारण सडक अवरुद्ध हुँदा किसानलाई तरकारी बजारसम्म पुर्याउन थप समस्या भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरी तरकारी सङ्कलन केन्द्रसम्म पुर्याउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष मगरले बताउनुभयो ।
किसानलाई बजारको समस्या हुन नदिन सत्यवती गाउँपालिकाले बुटवलस्थित कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारी बिक्रीको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि सटरको भाडा व्यहोर्दै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।
तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदानसमेत दिँदै आएको छ । अध्यक्ष पाण्डेका अनुसार किसानलाई प्रतिकिलो रु दुई र उत्पादित तरकारी व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल रु २० प्रोत्साहन रकम उपलब्ध गराउने गरिएको छ ।








