काठमाडाैँ । पहिरोमा परी ज्यान गुमाएका बागलुङकाे ताराखोला गाउँपालिकाका तीन परिवारलाई गाउँपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद राहत उपलब्ध गराएको छ ।
गाउँकार्यपालिकाको निर्णयअनुसार पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । अध्यक्ष विक, प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, सम्बन्धित वडाध्यक्षलगायतको टोली पीडितको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।
असोज दोस्रो साता गएको पहिरोमा परी ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । पहिरोमा घर पुरिँदा ताराखोला गाउँपालिका–५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला गाउँपालिका–५, धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।
गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सहयोग गर्नसमेत अपिल गरेको छ । बाढीपहिरोका कारण घरबास, सडक, विद्यालय तथा सार्वजनिक भवन, विद्युत् संरचना र प्रसारण लाइनमा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो ।
यसैबीच, बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्री सहयोग गरेको गाउँपालिकाले जनाएको छ।








