सिङ्गापुर। सिङ्गाापुरको केन्द्रीय बैंकले वित्तीय संस्थामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका बुधबार जारी गरेको छ ।
सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस)का अनुसार निर्देशिकाले वित्तीय संस्थाका लागि एआईसम्बन्धी जोखिम व्यवस्थापनका क्रममा अपनाउनुपर्ने सुपरिवेक्षकीय अपेक्षा स्पष्ट गरेको छ । संस्थालाई आफ्नो जोखिमको स्तर र प्रकृतिअनुसार उपयुक्त कार्यविधि तथा व्यवस्थापन प्रणाली विकास गर्ने लचकता दिइएको छ ।
एमएएसले जारी गरेको विज्ञप्तिअनुसार निर्देशिका सबै प्रकारका वित्तीय संस्था तथा उनीहरूले प्रयोग गर्ने विभिन्न एआई प्रविधिमा लागू हुनेछ ।
निर्देशिकामा एआईसम्बन्धी जोखिमको स्पष्ट जवाफदेहितासहित प्रभावकारी निगरानी व्यवस्था कायम गर्ने, एआईको सम्पूर्ण जीवनचक्रमा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने र तेस्रो पक्षबाट उपलब्ध गराइएका एआई प्रणाली तथा सेवाको प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, वित्तीय संस्थाले आफ्नो एआई प्रयोगसँग सम्बन्धित जोखिमको स्तरअनुसार निर्देशिकाका प्रावधान लागू गर्नुपर्ने एमएएसले जनाएको छ ।
नयाँ निर्देशिका ७ अक्टोबर २०२७ देखि लागू हुनेछ । वित्तीय संस्थालाई नयाँ व्यवस्थाअनुसार आवश्यक प्रणाली तथा प्रक्रिया विकास गर्न सहज होस् भन्ने उद्देश्यले निर्देशिका कार्यान्वयनका लागि चरणबद्ध व्यवस्था गरिएको छ । (रासस/सिन्ह्वा)








