काठमाडौं । नेपाली काँगेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीलाई सरकारमा सहभागि मात्र हुने वा मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने भन्ने विषयमा प्राथमिकता छुट्याउनुपर्ने बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस सरकार बनाउने पार्टी मात्र नभई मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्ति बनाउने कोणबाट बहस गर्नुपर्ने समेत बताउनुभयो ।
उहाँले विगतमा सरकार गठनलाई मात्र पार्टीको उद्देश्य मान्दा अहिले पार्टी यो अवस्थामा पुगेको उहाँको निष्कर्ष छ । उहाँले विगतमा सत्ता प्राप्तिका क्रममा पार्टीले आफ्नो राजनीतिक पहिचान कमजोर बनाएको दाबी पनि गर्नुभयो ।
विभिन्न राजनीतिक शक्तिसँग सत्ता सहकार्य गर्ने क्रममा कांग्रेस आफ्नो मूल पहिचानबाट विचलित उहाँको भनाइ छ । संसदीय दलका नेता आङ्देम्बेले कांग्रेसलाई आफ्नै राजनीतिक पहिचानमा अघि बढाउन आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस सरकार बनाउने पार्टी हो या मुलुक बनाउने पार्टी हो ? यो दुई वटा कोणबाट हामीहरु बहस सुरु गर्नुपर्नेछ । हामीहरुले नेपाली कांग्रेस सरकार मात्रै बनाउने पार्टी हो भन्ने कोणबाट बहस सुरु गर्यौँ भने हामी फेरि फर्केर हिजोकै दिनमा पुग्छौँ । हिजोको दिन त्यही सरकार बनाउने मात्रै कांग्रेस हुँदाखेरि हामीले हाम्रो पहिचान बिर्सियौँ । न हाँसको चाल, न कागको चाल भएर बेचालको पहिचानविहीन कांग्रेस भएर हामी बाँच्न बाध्य भयौँ । सरकारमा पुग्नका निम्ति कहिले कम्युनिस्टको काखमा, कहिले पुरानो राजसंस्थासँग साइनो गाँसिनेहरुको साथमा सत्ता प्राप्त गर्नका निम्ति हामीहरुले जसरी हाम्रो पहिचान गुमाउँदै गयौँ, सत्तामा पुग्नकै निम्ति, सत्र नक्षत्र हेरेर ज्योतिषीले टुंग्याएको चिनामाथि विश्वास र भरोसा व्यक्त गर्नकै निम्ति जसरी हामीहरु स्खलित भयौँ, त्यही स्खलनले नेपाली कांग्रेसलाई आजको स्थितिमा पुर्याइदियो । अब हामी त्यो स्खलनबाट बाहिर निस्किन चाहन्छौँ । नेपाली कांग्रेसलाई आफ्नै पहिचानमा हिँडाउनुछ । हाम्रो पहिचान हिजो विपी, गणेशमान र किसुनजीले देख्नुभएको गिरजाबाबु, सुशील कोइराला हुँदै पछिल्लो समयमा श्रद्धेय शेरबहादुर देउवाले पनि कहीं न कहीं भेटाउन खोजेको कांग्रेस हामीहरुले फेरि प्राप्त गर्नुछ । म गल्तीका कुराहरु धेरै गर्न चाहन्न, तर केही राम्रा कुराहरु मैले यहाँ राख्न खोजे। त्यसकारण आज हामीहरुले सत्ता प्राप्ति गर्ने पार्टीको रुपमा मात्रै नेपाली कांग्रेसलाई बुझ्न खोज्यौँ भने फेरि फर्केर पुगिने ठाउँ त्यही हो। जसले हामीलाई पहिचानविहीन बनायो, जसले नेपाली कांग्रेसलाई कांग्रेसको गौरवलाई घृणलाग्दो बनायो। त्यसकारण हामीले नेपाली कांग्रेसलाई समग्रमा मुलुकको समृद्धि र समुन्नतिसँग गाँसेर हेर्ने पार्टीको रुपमा हामीहरुले चित्रण गर्न सोच्यौँ तिर लाग्यौँ भने अब बल्ल नेपाली कांग्रेस अनि हामीले सोचेको जस्तो पार्टी बन्दछ ।’
उहाँले कांग्रेसलाई सत्ता प्राप्तिको पार्टीका रूपमा मात्र नभई मुलुकको समृद्धि र समुन्नतिसँग जोडिएको पार्टीका रुपमा पुनःस्थापित गर्नुपर्ने बताउनुभयो ।








