काठमाडौं । दसैंको अवसरमा यातायात व्यवस्था विभागले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।
विभागले आज सरोकारवालासँगको बैठकपछि दसैंका लागि देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो । यस वर्षको घटस्थापना २५ असोजमा परेको छ ।
बैठकले यात्रुको सहजताका लागि २३ असोजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको छ ।
विभागका अनुसार दसैंका समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी आवागमन सहज बनाउन रुट परमिट खुला गरिएको हो । यद्यपि, कुनै सडकको विशेष प्रकृतिका कारण निश्चित आकार वा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा निषेध गरिएको भए त्यस्ता सवारीसाधनका लागि भने बन्देज कायमै रहने विभागले जनाएको छ ।
दसैंमा घर फर्किने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिनुका साथै सार्वजनिक यातायात सञ्चालनलाई सहज बनाउने तयारी गरिएको विभागले जनाएको छ।








