काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थापना तथा सञ्चालन गर्न लागेको ‘महानगर पुस्तकालय’लाई समुदायको अपनत्व तथा सबैको पहुँच योग्य बनाउने विषयमा आज साझेदारसँग परामर्श बैठक सम्पन्न भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरुले ‘पठन संस्कार’ बढाउन सुविधा सम्पन्न पुस्तकालयको बनाउने महानगरपालिकाको योजनाबाट आफू उत्साहित भएको बताउनुभयो ।
यसरी धारणा राख्नेहरुमा बैठकमा सहभागी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रि. वि. केन्द्रिय पुस्तकालय, केशर पुस्तकालय, राष्ट्रिय अभिलेखालय, साझा प्रकाशन, रत्न पुस्तक भण्डार, शारदा पुस्तकालय, अक्षेश्वर परम्परागत बौद्ध कला महाविद्यालय, सफूधुकु, बज्राचार्य क्लब, वल्र्ड नेवाः अर्गनाइजेसन, लेखक तथा साहित्यकारलगायत पुस्तकालय सञ्चालन गर्ने तथा पठन संस्कृतिसँग सम्बन्धित निकायका प्रतिनिधिहरु हुनुहुन्थ्यो । उहाँहरुले महानगरपालिकाको पुस्तकालयका लागि आफूसँग भएका केही पुस्तकहरु समेत ल्याउनुभएको थियो । ल्याइएका पुस्तकहरु छिट्टै पुस्तकालय सञ्चालनमा आओस् भन्ने शुभेच्छासहित कार्यवाहक प्रमुखलाई प्रदान गर्नुभएको थियो ।
‘नगरको आफ्नै संग्रहालय, आफ्नै पुस्तकालय हुनुपर्छ । यसले नगरको छवि उच्च बनाउँछ ।’ बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हामीले अत्याधुनिक, सुविधा सम्पन्न र पहुँचयुक्त पुस्तकालय सञ्चालन गर्न चाहेका छौँ । यसको शुरुवात् अहिले हामीसँग उपलब्ध अवस्थाको उच्चतम उपयोगबाट गर्दैछौँ ।’ शिक्षा विभागका प्रमुख नमराज ढकाललाई पुस्तकालयमा राख्न पहिलो पुस्तक नेवाः सांस्कृतिक ज्ञान कोष प्रदान गर्दै डंगोलले भन्नुभयो, ‘यो पुस्तकालयको जग हो । तत्कालै पुस्तकालय सञ्चालनमा ल्याउने प्रबन्ध गर्नुहोला ।’
‘पठन संस्कारलाई सहरी जीवनशैलीको अभिन्न अङग बनाउनु पर्नेछ । यसका लागि केन्द्रिय पुस्तकालय, वडा र समुदाय स्तरका पुस्तकालय निर्माण तथा सञ्चालन गराउँछौँ ।’ उहाँले थप्दै भन्नुभयो, ‘हामी बुक एटीएमसम्मको योजनामा छौँ ।’
महानगरपालिकाले धर्मपथमा रहेको येँ दे सांस्कृतिक छेँ मा पुस्तकालय सञ्चालन गर्नेछ । वैठकमा शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, ‘हामीले पूर्वाधार र व्यवस्थापकीय पक्षमा काम गरिरहेका छौँ ।’
बैठकमा सहरी योजना आयोगका सहायक विज्ञ प्रदीप बज्राचार्यले बैठकमा प्रस्तुतिकरण गर्दै भन्नुभयो, ‘पुस्तकालयलाई पुस्तक राख्ने र पढ्ने स्थानमा मात्र सीमित नराखी ज्ञान केन्द्र, नवप्रवर्तन केन्द्र, सामुदायिक सिकाइ स्थल, सांस्कृतिक सम्पदा अभिलेखालय, डिजिटल सिकाइ केन्द्र तथा अनुसन्धान र सूचना केन्द्रका रूपमा विकास गर्ने अवधारणा कार्यान्वयन गर्न लागिएको हो ।’
पुस्तकालयलाई वडा तहमा रिडिङ कर्नरका रुपमा विकास गर्ने महानगरपालिकाको योजना छ । विद्यालयमा आधारित सामुदायिक पुस्तकालय तथा अन्य संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना छ । नागरिकले एउटै महानगरीय पुस्तकालय कार्डमार्फत पुस्तक लिन सक्ने, अध्ययन कक्ष, इन्टरनेट तथा विभिन्न सामुदायिक कार्यक्रमको सुविधा लिन सक्ने अवधारणा अघि सारिएको छ ।
पुस्तकालयमा बालबालिका, विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिकलगायत विभिन्न समूहलाई लक्षित सदस्यता प्रदान गरिनेछ । इबुक, जर्नल, पत्रपत्रिका, अडियो बुक र भिडियोसहितको डिजिटल सुविधा उपलब्ध गराइनेछ । भौतिक रुपमा पढ्न आउनेलाई नेवारी फल्चा शैलीको बस्ने ठाउँ वा पलेँटी कसेर पढ्ने वातावरण मिलाइनेछ । डिजिटल पुस्तकालयमा चौबीसै घण्टा पहुँचको व्यवस्था गर्ने अवधारणा छ ।
महानगरले पुस्तकालयको पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आरएफआईडी, कोहा इन्टिग्रेटेड लाइब्रेरी सिस्टम, अनलाइन सार्वजनिक पुस्तक सूची, क्युआर कोडमार्फत पुस्तक खोज्ने प्रणाली तथा आधुनिक वर्गीकरण र सूचीकरण प्रणाली प्रयोगमा ल्याइनेछ ।
पुस्तकालयको दिगोपनाका लागि वार्षिक पुस्तक खरिद, प्रकाशकसँग सहकार्य, विश्वविद्यालय तथा दूतावाससँग साझेदारी, संस्थागत सामाजिक उत्तरदायित्व, लेखकद्वारा पुस्तक उपलब्ध गराउने कार्यक्रम, ‘एक नागरिक एक पुस्तक’ अभियान तथा पुस्तकालय बिच साझेदारी कार्यक्रम सञ्चालन हुनेछन् ।
पुस्तकालयलाई समुदायसँग जोड्न मासिक पुस्तक संवाद तथा लेखकसँग भेटघाट, त्रैमासिक पठन महोत्सव र अनुसन्धान सम्बन्धी कार्यक्रम तथा वार्षिक ‘काठमाडौँ बुक वीक’, पठन म्याराथन र पुरस्कारलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई लक्षित छुट्टाछुट्टै पठन तथा ज्ञानमूलक कार्यक्रम सञ्चालन हुनेछन् ।
त्यस्तै, पुस्तकालयमा काठमाडौँको इतिहास, संस्कृति र सामुदायिक स्मृतिको संरक्षण गर्ने केन्द्रका रूपमा विकास गर्दै लगिनेछ । पुस्तकालयमा नेपाल भाषा, आदिवासी ज्ञान, नेवार सांस्कृतिक सम्पदा, काठमाडौँ उपत्यकाको इतिहास, सामुदायिक अभिलेख, जीवनी तथा श्रव्यदृश्य सम्पदा, महानगरपालिकाबाट जारी गरिएको सार्वजनिक सूचना, शोधग्रन्थ तथा प्रकाशनलगायत सामग्रीका छुट्टाछुट्टै खण्ड बनाइनेछ ।
लाइब्रेरीका उपभोक्ता तथा सदस्य संख्या, दैनिक तथा मासिक आगन्तुक, पुस्तक लिएर जाने निश्चित समयपछि फिर्ता गर्ने पाठक, डिजिटल स्रोतको प्रयोग, बालबालिकाको सहभागिता, सञ्चालन गरिएका कार्यक्रम, अनुसन्धानमा सहयोग लिने प्रयोगकर्ता, डिजिटल अभिलेखीकरण, प्रयोगकर्ता सन्तुष्टि, विद्यालय तथा समुदायसँगको साझेदारी र सेवाको पहुँच जस्ता सूचकका आधारमा प्रभावकारिता मूल्याङ्कन गरिनेछ ।








