रुपन्देही । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय किसानसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्नुभएको छ।
लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले किसानसँग भेटघाट गर्नुभएको हो। उहाँले असोज १५ गतेदेखि १८ गतेसम्म प्रदेशका विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको थियो।

भेटघाटका क्रममा किसानहरूले कृषि उत्पादन तथा बजारीकरण, सिँचाइ, मल–बीउको उपलब्धता, कृषि पूर्वाधारलगायत स्थानीयस्तरमा भोग्दै आएका समस्या र चुनौतीबारे मन्त्री चौधरीसमक्ष गुनासा तथा सुझाव राखेका थिए।
किसानका समस्या प्रत्यक्ष रूपमा सुनेपछि मन्त्री चौधरीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको आयआर्जन तथा जीवनस्तर सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले किसानसँगको प्रत्यक्ष संवादबाट स्थानीयस्तरमा रहेका वास्तविक समस्या पहिचान गर्न सहज हुने भन्दै समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिने बताउनुभयो।
मन्त्री चौधरीको स्थलगत भेटघाटले किसानका समस्या प्रत्यक्ष रूपमा बुझ्नुका साथै कृषि क्षेत्रका चुनौती समाधान गर्न आवश्यक नीति तथा कार्यक्रम निर्माणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।







