काठमाडौँ। कोरियाली डाक्टरहरुको संस्था कोरियन मेडिकल एशोसियसनले नुवाकोटका बाढी पीडितहरुका लागि राहत सामग्री प्रदान गरेको छ ।
विदुर नगरपालिका-१ का २ सय २० परिवारको लागि जाडोमा प्रयोग हुने ब्ल्याङ्केटलगायत लत्ताकपडाहरु प्रदान गरेको हो ।
टोली आज प्रभावित क्षेत्रमै पुगी आवश्यक सामग्री प्रदान गरेको हो । नजिकिंदो जाडोका लागि केही सामग्री दिन पाएकोमा आफूहरु खुशी भएको कोरियाली टोलीका नेता डाक्टर चोइ जेङ सेवले बताउनु भयो ।
चिकित्सकहरुको टोलीले बाढीपछि त्यस क्षेत्रको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएको नेपाल कोरिया मानवीय सहायता समन्वयकर्ता रुद्र शर्माले जानकारी दिनुभयो ।
अहिले बाढी प्रभावित क्षेत्रको अवस्थाको बारेमा जानकारी लिन आएको र पछि पुनर्स्थापनाका क्रममा आवश्यक संरचना निर्माणमा सहयोग गरिने नेपालका लागि कोरियाली अवैतनिक वाणिज्य दूत डाक्टर जिअनले बताउनु भयो ।
विदुर नगरपालिकासँग समन्वय गरी वडामार्फत करिव २० लाख रुपैया बराबरको कोरियाली सहायता वितरण गरिएको स्थानीय नारायण प्याकुरेलले जानकारी दिनुभयो ।रासस








