शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं राजनीतिक दल व्यवस्थापनसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मतदानमा अपेक्षाअनुसार सहभागिता नबढ्नु र बदर मतको संख्या उच्च हुनुका कारण पहिचान गरी सुधारका लागि दलहरूले पहल गर्नुपर्ने बताउनुभएको हो ।
प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनका समयमा राज्यका सम्पूर्ण संयन्त्र र राजनीतिक दल परिचालित भए पनि मतदान प्रतिशत अपेक्षाअनुसार बढ्न नसकेको उल्लेख गर्दै यस विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले मतदानमा सहभागिता कम हुनुको कारण नागरिकमा लोकतन्त्रप्रतिको विश्वासमा कमी आएको हो वा मतदानप्रति उत्साह घटेको हो भन्ने प्रश्नसमेत उठाउनुभयो ।
उहाँले राजनीतिक दलका वडा तहसम्मका संगठनमार्फत मतदाताका समस्या पहिचान गरी मतदानप्रति जागरूकता बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका राजनीतिक दलहरूले मतदानमा सहभागिता कम हुनुका कारण खोजी गरी समाधानका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

बदर मतको विषयमा पनि प्रमुख निर्वाचन आयुक्त कार्कीले मतदान प्रक्रिया, विधि वा निर्वाचन प्रणालीमै सुधारको आवश्यकता रहेको बताउनुभयो । सर्वसाधारण मात्र नभई जनप्रतिनिधिले मतदान गर्दा समेत मत बदर हुने गरेको उल्लेख गर्दै उहाँले मतदान प्रक्रिया सहज र स्पष्ट बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको लोकतन्त्रप्रतिको विश्वास नभएको हो कि, जनता भोटिङप्रति उत्साहित नभएको हो कि, अथवा गरे पनि हुन्छ, नगरे पनि हुन्छ भन्ने भएको हो कि भन्ने प्रश्न छ ।”
निर्वाचनमा हुने खर्चलाई पनि समग्र रूपमा हेरेर न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा मतदाताले गर्ने खर्चलाई व्यवस्थित र कम गर्ने विषयमा समेत पुनर्विचार आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त कार्कीले मतपेटिका तथा मतगणनास्थलको सुरक्षाका लागि गरिने व्यवस्थाबारे पनि पुनःविचार गर्नुपर्ने बताउनुभयो । मतगणनास्थलमा तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्थाले कर्मचारी, राजनीतिक दल, जनप्रतिनिधि वा उम्मेदवारमध्ये कसप्रति अविश्वास रहेको हो भन्ने प्रश्न उठ्ने उहाँले बताउनुभयो ।
त्यस्तै, मतदाता नामावली शुद्धीकरणलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । मृत्यु भएका तथा बसाइँ सरेका व्यक्तिको विवरण सम्बन्धित निकायमा समयमै उपलब्ध नहुँदा मतदाता नामावली अद्यावधिक गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त कार्कीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग सहकार्य गर्न आयोग तयार रहेको पनि बताउनुभयो ।







