काठमाडौं । जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिलाई जोड्ने उद्देश्यले काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने नाराका साथ सुरु भएको क्लाइमेट विकमा जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी स्थानीय समुदाय, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर छलफल गरिने आयोजकले जनाएको छ।
क्लाइमेट विकका आयोजक तथा वैकल्पिक ऊर्जा तथा जलवायु विज्ञ कुशल गुरुङले नेपालमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न कार्यक्रम भइरहे पनि जलवायु मुद्दालाई समाज र सहरको दैनिक जीवनसँग जोडेर समाधान खोज्न क्लाइमेट विक आयोजना गरिएको बताउनुभयो।
उहाँले जलवायु परिवर्तनको असर अहिले भविष्यको पुस्तामा मात्र सीमित नभई मानिसको घरआँगनमै देखिन थालेको बताउनुभयो। क्लाइमेट विकको पहिलो बैठककै दिन रसुवामा बाढी आएको र त्यसपछि कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेमा अन्योल भएको उहाँले उल्लेख गर्नुभयो। तर उक्त विपद्ले जलवायु संवादलाई न्याय र विश्वव्यापी ध्यानसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता झन् स्पष्ट पारेको उहाँको भनाइ छ।
कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गर्नुभएको छ। अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने कार्यक्रममा नीति निर्माता, सांसद, जलवायु विज्ञ तथा अभियन्ता, स्थानीय तथा आदिवासी समुदाय, जलवायु प्रभावित समुदाय, युवा, अनुसन्धानकर्ता, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी तथा विकास साझेदारको सहभागिता रहेको छ।
क्लाइमेट विकमा जलवायु वित्त, क्षति तथा नोक्सानी, जलवायु उत्थानशील पूर्वाधार, वैज्ञानिक तथ्याङ्क तथा अनुसन्धान, जैविक कृषि, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, निजी क्षेत्रको लगानी र युवाको भूमिकालगायत विषयमा छलफल हुनेछ।
अक्टोबर ३ मा १७ वटा समानान्तर सत्र सञ्चालन हुनेछन् भने अक्टोबर ४ मा अग्रपंक्तिका समुदाय र कार्यान्वयनका अनुभवमा केन्द्रित छलफल हुनेछ। युवाको नेतृत्वमा जलवायु न्याय तथा रसुवा–भोटेकोशी बाढीसम्बन्धी विशेष सत्रसँगै सांसदहरूको सहभागितामा जलवायु न्यायसम्बन्धी संवादसमेत आयोजना हुने आयोजकले जनाएको छ।
क्लाइमेट विकले स्थानीय समुदायका अनुभव र भुइँतहका पहललाई राष्ट्रिय नीति तथा नेपालको अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्ने प्रयास गर्ने आयोजकको भनाइ छ। क्लाइमेट विकपछि अक्टोबर ५ मा सार्वजनिक फिल्म प्रदर्शनसमेत आयोजना गरिनेछ।








