काठमाडौं । नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै तत्काल व्यापक संरचनागत सुधार गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले निगमको व्यवस्थापकीय असफलताका कारण मुलुकको प्रतिष्ठामै असर परेको बताए । नेपालमा पर्यटनको उच्च सम्भावना हुँदाहुँदै विदेशी वायुसेवा कम्पनीले ठूलो व्यवसाय गरिरहँदा राष्ट्रिय ध्वजावाहक भने निरन्तर घाटामा जानु गम्भीर विषय भएको उनको भनाइ थियो ।
उनले निगमको वर्तमान समस्या अहिलेको नेतृत्वका कारण मात्र नभई लामो समयदेखि व्यवस्थापन, लगानी र सुधारबीच आवश्यक सन्तुलन कायम हुन नसक्दाको परिणाम भएको बताए । अहिलेको अवस्थालाई निगममा ठूलो सुधार र पुनर्संरचना गर्ने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

‘व्यवसाय सञ्चालन गर्ने संस्थालाई आवश्यक व्यावसायिक लचकता दिनुपर्छ । कामै गर्न नसक्ने गरी नियम बनाउनेभन्दा गलत काम गर्नेलाई कारबाही गर्ने व्यवस्था प्रभावकारी हुन्छ,’ उनले भने ।
सांसद कार्कीले सीमित जहाजबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने भन्दै निगमको जहाज संख्या वृद्धि र फ्लीट विस्तारमा सरकारले तत्काल ध्यान दिनुपर्ने बताए । एउटा जहाजमा समस्या आउँदा त्यसको असर निगममा मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठामासमेत पर्ने उनको भनाइ थियो ।
बैठकमा उनले निगमको नियमावलीमा रहेको महिला क्याबिन क्रुको उमेरसम्बन्धी व्यवस्थाप्रति पनि आपत्ति जनाए । ४५ वर्षपछि महिलाले क्याबिन क्रुका रूपमा काम गर्न नपाउने व्यवस्था विभेदकारी भएको उल्लेख गर्दै उनले त्यसलाई तत्काल पुनरावलोकन गर्न माग गरे ।
उनले उक्त व्यवस्था संविधान र सर्वोच्च अदालतको आदेशविपरीत रहेको दाबी गर्दै अदालतको आदेश तथा सम्बन्धित कानुनी व्यवस्थाबारे समितिलाई स्पष्ट जानकारी गराउनुपर्ने बताए । महिला र पुरुषबीच विभेद हुने कुनै पनि नीति तथा नियम संशोधन गर्नुपर्नेमा उनले जोड दिए।







