काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। खोजी तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बिहीबार थप चार शव फेला पारेको हो।
एसोसिएसनका अनुसार पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी माउन्टेन गाइड टोलीले प्रतिकूल मौसमका बाबजुद खोजी तथा उद्धारलाई निरन्तरता दिएको थियो। टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा खोजी गर्दा चार जनाको शव फेला पारेको जनाएको छ।
यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ। गत ९ असोजदेखि मौसम प्रतिकूल बनेपछि हिमलुङ क्षेत्रमा हिमपहिरो गएको थियो।
हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा १६ जना बेपत्ता भएका थिए। तीमध्ये हालसम्म ११ जनाको शव फेला परिसकेको छ भने अझै पाँच जना बेपत्ता रहेको जनाइएको छ। खोजी तथा उद्धार कार्य जारी छ।








