काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्दै काठमाडौं–हाङझाउ–काठमाडौं ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।
हिमालय एयरलाइन्स (IATA: H9) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र चीनको हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थल (HGH) बीच सातामा दुईवटा सिधा उडान सञ्चालनमा ल्याएको हो । नयाँ उडान सेवा सेप्टेम्बर ३०, २०२६ देखि सुरु भएको एयरलाइन्सले जनाएको छ ।
काठमाडौं–हाङझाउ उडान प्रत्येक आइतबार र बुधबार तथा हाङझाउ–काठमाडौं उडान प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुनेछ । काठमाडौं–हाङझाउ उडान स्थानीय समयअनुसार साँझ ५ः१५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान १ः०५ बजे हाङझाउ पुग्नेछ । हाङझाउ–काठमाडौं उडान बिहान २ः०५ बजे प्रस्थान गरी बिहान ६ः२० बजे काठमाडौं अवतरण गर्नेछ ।
ऐतिहासिक पहिलो काठमाडौं–हाङझाउ उडान H9 225 ले सेप्टेम्बर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ५ः३७ बजे प्रस्थान गरी अक्टोबर १ को बिहान १ः१८ बजे हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यसैगरी, हाङझाउ–काठमाडौं उडान H9 226 ले अक्टोबर १ मा स्थानीय समयअनुसार बिहान ३ः१८ बजे हाङझाउबाट प्रस्थान गरी नेपाली समयअनुसार बिहान ६ः२८ बजे काठमाडौं अवतरण गरेको एयरलाइन्सले जनाएको छ ।

हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–हाङझाउ–काठमाडौं उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप सहज बनाउनुका साथै पर्यटन, व्यापार तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेछ । चीनबाट नेपाल आउने पर्यटकका लागि थप सहज यात्रा विकल्प उपलब्ध गराउने उद्देश्यले एयरलाइन्सले आफ्नो सञ्जाल विस्तारलाई निरन्तरता दिएको जनाएको छ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने लक्ष्यअनुरूप नयाँ गन्तव्य विस्तारलाई प्राथमिकता दिइएको बताए ।
उनले नयाँ बजार खोज्ने प्रयासमा काठमाडौं–हाङझाउ–काठमाडौं उडान महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ पार्नुका साथै पर्यटन तथा व्यापारिक गतिविधि विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
एयरलाइन्सले यात्रुहरूले हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर तथा आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत काठमाडौं–हाङझाउ–काठमाडौं उडानको टिकट बुक गर्न सक्ने जनाएको छ।









