काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले आपत्ति जनाउनुभएको छ ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मल्लले सरकारको उक्त शैलीलाई ‘जङ्गली राज’को संज्ञा दिनुभयो । पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको उहाँको भनाइ थियो ।
महाअभियोग संसदीय प्रक्रिया भएकाले त्यसको निरुपण संसद्को क्षेत्राधिकारभित्र पर्ने उल्लेख गर्दै मल्लले सामान्य कानुनी कारबाहीका लागि मध्यरातमा धरपकडको शैली अपनाउनुको कारणबारे प्रश्न उठाउनुभयो ।
उहाँले भन्नुभयो, “जहाँ संविधान, कानून र स्थापित विधि मानिँदैन, त्यस्तो राज्यलाई कानुनी राज भन्न सकिँदैन। यो जङ्गली राजको अभ्यास हो ।”
मल्लले सरकारको यस्तो कार्यशैलीले नियतमाथि प्रश्न उठाएको बताउँदै प्रतिशोधपूर्ण राजनीतिले भविष्यमा सत्तामा रहेकाहरूलाई नै असर पार्न सक्ने चेतावनी दिनुभयो ।
जनताले वर्तमान सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गरेको उल्लेख गर्दै उहाँले सरकारलाई गलत बाटोमा नहिँड्न र विधिको शासन कायम गर्न आग्रह गर्नुभयो ।