काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन भारतबाट १ हजार १ सय ५४ मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न उक्त परिमाणमा विद्युत् आयात गर्ने योजना रहेको बताउनुभयो ।
उहाँका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २ सय १८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । त्यसमा भारतबाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटिसीमार्फत १ सय ५० मेगावाट विद्युत् आयात गर्ने योजना छ ।
आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३ सय ७२ मेगावाट विद्युत् उपलब्ध हुने प्राधिकरणको अनुमान छ । अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम बिन्दु २ हजार २ सय ९२ मेगावाट पुगेको थियो ।
कार्यकारी निर्देशक श्रेष्ठले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २२० केभी हब तथा विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको जानकारी दिनुभयो ।
बाढीबाट प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । यद्यपि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम सम्पन्न भएपछि सुरुङ तथा पावरहाउसमा जम्मा भएको डेब्रिज र फोहोर हटाएपछि मात्रै वास्तविक क्षतिको विवरण संकलन गर्न सकिने उहाँको भनाइ छ ।
डेब्रिज हटाउने काम सम्पन्न भएपछि वास्तविक क्षतिको विवरणका आधारमा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनको काम अघि बढाइने प्राधिकरणले जनाएको छ।








