ललितपुर, ९ असोजः गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीहरूका लागि रोचक र उपयोगी रहेको बताउनुभएको छ ।
मानव सेवा फाउन्डेसनको आयोजना एवं हिन्दू सम्राट नेपाल र मधेसी प्राध्यापक समाजको सहयोगमा आज ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ पुस्तक विमोचन समारोहमा उहाँले कठिन ग्रन्थलाई मातृभाषामा अनुवाद गरेर समाज र समुदायका लागि महत्त्वपूर्ण काम भएको बताउनुभयो ।

“पुस्तक सरल भाषामा अनुवाद गरिएको छ । प्रत्येक मैथिलीभाषीहरूले घरघरमा राख्न उचित किसिमको यो पुस्तक सबै परिवारको योगदानले बनेको विश्वास दर्साउँछ । यसले भाषा संरक्षणका साथै चेतना फैलाउने दस्ताबेज बन्नेछ”, प्रथम उपराष्ट्रपति झाले भन्नुभयो ।
प्रतिनिधिसभाका सांसद नितिमा कार्कीले यो कृतिको लेखनले मिथिलाञ्चलका लागि मात्रै नभएर नेपाली साहित्यका लागि ऐतिहासिक दस्ताबेजका रूपमा रहेको बताउनुभयो । उहाँले मैथिली साहित्यमा महत्त्वपूर्ण ज्ञान र चेतनाको विकासमा पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रुपा झाले एक गृहिणी महिलाले आफ्नो घरायसी जिम्मेवारी पूरा गर्दै यो ऐतिहासिक पुस्तक प्रकाशन गर्नु उल्लेखनीय काम भएको बताउनुभयो । विश्व हिन्दू महासङ्घका नेपालका अध्यक्ष अरुणकुमार पाण्डेले नेपालको पहिचान, सनातन संस्कृतिलाई स्थानीयस्तरदेखि विश्व मञ्चसम्म पुर्याउन, ज्ञान, भक्ति र कर्मको उजागर गर्न पुस्तक महत्त्वपूर्ण ग्रन्थ भएको बताउनुभयो ।

पत्रकार एवं विश्लेषक सिके लालले मैथिलीभाषीहरूलाई लक्षित गरेर प्रकाशित किताबले इतिहासको अनुवाद, विश्वास र भावको हस्तान्तरण गरेको बताउनुभयो । पुस्तकका सम्पादक प्रेमनारायण झाले महाभारतमा ज्ञान, कर्म, भक्ति महाभारतका महत्त्वपूर्ण रुपले चित्रित गरेको बताउँदै यो ग्रन्थले वर्तमान तथा भावी पुस्तालाई आफ्नै मातृभाषामा महाभारतको ज्ञान, दर्शन, धर्म र जीवनमूल्य बुझ्न प्रेरणा दिने विश्वास गरिएको बताउनुभयो ।
उहाँले वर्तमान पुस्तामा पुस्तक पठन संस्कृति घट्दै गएको समयमा अध्ययन संस्कृति र चेतनाको पुनःजागरणका लागि पुस्तक प्रकाशन गर्नु अत्यन्तै महत्त्वपूर्ण भएको बताउनुभयो । पुस्तकका प्रकाशक विनयकुमार झाले मैथिली संस्कृति, परम्परा, भाषा संस्कृति र सभ्यतालाई सम्मान गर्ने र भाषा, परम्परा संरक्षण गर्दै पुस्तान्तरण गर्न पुस्तक प्रभावकारी माध्यम बन्ने बताउनुभयो ।

छ सय १३ पृष्ठको एक लाख २१ हजारभन्दा बढी शब्दहरू प्रयोग भएको यो पुस्तक महाभारतजस्तो महत्त्वपूर्ण ग्रन्थलाई मैथिली भाषामा सृजना गरेर जीवन्त बनाउने कार्य भएको पुस्तकका लेखिकाका अर्चना झाले जानकारी गराउनुभयो ।
राष्ट्रिय पोशाक अभियानका संयोजक राजानन्द माण्डव्यले राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक सङ्कटबाट उतार्न सबैले मिलेर लाग्नुपर्नेमा जोड दिँदै मिठासपूर्ण शैलीमा मैथिली भाषामा उतारिएको मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत पुस्तक अत्यन्तै महत्त्वपूर्ण ग्रन्थ भएको बताउनुभयो ।रासस








