काठमाडौं । विभिन्न राजनीतिक दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियान घोषणा गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य राखिएको जानकारी दिइएको हो ।
अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताउनुभयो । उहाँले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम, शिक्षित र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताउनुभयो ।
मधेश केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्ने प्रस्ताव राखिए पनि त्यसलाई स्वीकार नगरिएपछि नयाँ अभियान अघि बढाउनुपरेको झाको भनाइ थियो ।
उहाँले राजनीतिमा समाजका सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने बताउनुभयो । राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
झाले राजनीतिप्रति जनतामा बढ्दै गएको वितृष्णा अन्त्य गर्दै राजनीतिलाई सही दिशामा ल्याउने अभियानको उद्देश्य रहेको बताउनुभयो । युवा पुस्तालाई राजनीतिसँग जोडेर सक्षम नेतृत्व निर्माण गर्ने र राजनीतिमा योग्य तथा विद्वान व्यक्तिहरूको सहभागिता बढाउने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
अभियानले राजनीतिलाई समाज परिवर्तनको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्दै मधेशसहित देशभर वैकल्पिक राजनीतिक शक्तिको आधार निर्माण गर्ने जनाएको छ।