९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे
अ अ+ अ-
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले जलवायु संकट र भोटेकोशी विपद्बारे राखेको धारणा कार्यान्वयनयोग्य राष्ट्रिय कार्ययोजनामा रूपान्तरण गर्ने गरी संघीय संसद्ले गृहकार्य अघि बढाएको छ ।

रसुवा–भोटेकोशी विपद्को अध्ययनका लागि प्रतिनिधिसभाले गठन गरेको सर्वदलीय विशेष समितिका सदस्य–सचिव तथा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रधानमन्त्रीको महासभा सम्बोधनलाई समितिको कामको मार्गदर्शक सिद्धान्तका रूपमा लिएर अध्ययन अघि बढाइएको बताउनुभएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. पाण्डेले भोटेकोशी–त्रिशूली बाढीले विश्वव्यापी नीतिगत बहसको ढोका खोलेको बताउनुभयो । उहाँले राष्ट्रसंघका महासचिवले चार वर्षअघि नेपाल भ्रमणका क्रममा दिएको ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अहिले भोटेकोशी विपद्मार्फत प्रत्यक्ष प्रमाणित भएको दाबी गर्नुभयो ।

गत असोज ५ गते प्रतिनिधिसभाले सत्तापक्ष र प्रतिपक्षका सबै दलको सहमतिमा तीन महिनाको कार्यादेशसहित विशेष समिति गठन गरेको थियो । समितिले विपद्सँग सम्बन्धित नौ वटा क्षेत्रमा अध्ययन अघि बढाएको डा. पाण्डेले जानकारी दिनुभयो ।

समितिले औपचारिक प्रतिवेदनमा मात्र सीमित नभई दीर्घकालीन पुनर्निर्माण तथा जलवायु कूटनीतिका लागि स्पष्ट खाका तयार गर्ने उहाँको भनाइ छ । प्रधानमन्त्रीले महासभामा उठाउनुभएको ‘६ आर’ र जलवायु न्यायको सन्देशलाई फिल्ड अध्ययन, पीडितका अनुभव तथा वैज्ञानिक तथ्यसँग जोडेर प्रमाणमा आधारित तथ्यांकमा रूपान्तरण गरिरहेको उहाँले बताउनुभयो ।

डा. पाण्डेले हिमाली क्षेत्रमा बढ्दै गएको विपद्लाई कुनै एउटा देश वा भूगोलको मात्र समस्या मान्न नहुने बताउनुभयो । भारतको उत्तराखण्डदेखि सिक्किम र भुटानसम्म हिमाली क्षेत्रमा विपद्को तीव्रता र आवृत्ति बढिरहेको उल्लेख गर्दै उहाँले भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको विपद्लाई सीमापार समस्याका रूपमा लिनुपर्ने बताउनुभयो ।

यसका लागि नेपाल, भारत र चीनबीच त्रिदेशीय संयन्त्र तथा संयुक्त परियोजना अघि बढाउनुपर्ने उहाँको भनाइ छ । नेपाल एक्लैले जलवायुजन्य संकटको सामना गर्न नसक्ने भन्दै उहाँले यस विषयलाई तत्काल कूटनीतिक वार्ताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालनमा देखिएको प्रक्रियागत जटिलता हटाउनुपर्नेमा पनि डा. पाण्डेले जोड दिनुभयो । जलवायु वित्तलाई धनी मुलुकले गरिब मुलुकलाई दिने दानका रूपमा नभई जलवायु संकटबाट मानव अस्तित्व जोगाउन आवश्यक स्रोतका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ ।

यसैबीच, आगामी नोभेम्बरमा टर्कीमा आयोजना हुने ३१औँ जलवायु सम्मेलन (कोप–३१) मा नेपालले प्रमाणमा आधारित नयाँ रणनीतिसहित सहभागिता जनाउने उहाँले बताउनुभयो । विगतका जलवायु सम्मेलनमा नेपालका मुद्दा राजनीतिक वक्तव्यमा सीमित भएको भन्दै डा. पाण्डेले यसपटक विशेष समितिले तयार पार्ने वैज्ञानिक तथ्यांक र प्रमाणसहितको श्वेतपत्र लिएर नेपाल प्रस्तुत हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार तथ्यमा आधारित दाबीमार्फत अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई थप प्रभावकारी रूपमा उठाउने तयारी भइरहेको छ।