चितवन । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार क्षेत्रमा त्रिशूली नदीले सडकको आधार भाग कटान गरेपछि सडक भासिएको छ ।
राजमार्गको करिब ७५ किलोमिटर ४ सय मिटर दूरीमा रहेको उक्त सडकखण्डमा ठूला चिरा परेपछि सवारीसाधनको आवागमन जोखिमपूर्ण बनेको हो । केही समयअघि सामान्य ब्यारिकेड लगाएर सञ्चालनमा रहेको सडकखण्डमा नदीको निरन्तर कटानका कारण पछिल्लो समय ठूलो क्षति पुगेको छ ।
सुरुवाती चरणमा सामान्य समस्या देखिएको उक्त स्थानमा त्रिशूली नदीले निरन्तर कटान गरेपछि सडकको ठूलो भाग भासिएर चर्किएको छ । सडक सुरक्षाका लागि राखिएका भौतिक अवरोधले समेत नदी कटान रोक्न नसक्दा सडकको जग कमजोर बनेको बताइएको छ ।
कटानको अवस्था र सडक भासिने क्रम बढ्दै गएमा पृथ्वी राजमार्गको मुख्य यातायात प्रणाली नै प्रभावित हुने जोखिम देखिएको छ । सडकको अवस्थाबारे सम्बन्धित प्राविधिक टोलीले निरीक्षण गरिरहेको छ ।
स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले जोखिमयुक्त उक्त सडकखण्डमा सावधानीपूर्वक सवारीसाधन चलाउन चालकलाई आग्रह गरेका छन् ।








