काठमाडाैँ । नेकपा (एमाले)ले विचाराधीन रहेको पुरानो संसद् पुनस्र्थापनासम्बन्धी मुद्दा यथाशक्य छिटो टुंगोमा पुर्याउन सर्वोच्च अदालतलाई आग्रह गरेको छ ।
बिहीवार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले लामो समयदेखि अदालतमा विचाराधीन रहेको मुद्दा छिटो टुंग्याउन आग्रह गरेको पार्टीका सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।
सञ्चारकर्मीसँग कुरा गर्दै सचिव बस्नेतले गम्भीर संवैधानिक प्रकृतिको मुद्दा लामो समयसम्म विचाराधीन राख्न नहुने बताउनुभयो । प्राकृतिक न्यायको सिद्धान्तअनुसार समयमै न्याय नदिनु अन्यायसरह हुने उहाँको भनाइ थियो ।
उहाँले संसद् विघटनको प्रक्रिया संविधानविपरीत भएको दाबी गर्दै पुरानो संसद् पुनस्र्थापना पार्टीको प्रमुख एजेण्डामध्ये एक रहेको बताउनुभयो । संसद् विघटनपछि गठन भएको अन्तरिम सरकारको प्रक्रिया र त्यसपछि भएका निर्वाचनसमेत संविधानसम्मत नभएको भन्दै ती विषयमा गम्भीर संवैधानिक प्रश्न रहेको उहाँले जिकिर गर्नुभयो ।
सचिव बस्नेतले भन्नुभयो, “लामो समयदेखि अदालतले होल्डमा राखेको पुरानो संसद् पुनस्र्थापनाको प्रक्रिया छिटो टुंग्याउन हामीले अदालतलाई आह्वान गरेका छौँ । अदालतमा मुद्दा निरन्तर विचाराधीन छ, टुंगिएको छैन । उचित र न्यायपूर्ण फैसला हुनुपर्छ भन्ने हाम्रो माग हो ।”
उहाँले सरकारले महँगी नियन्त्रण र विपद् प्रतिकार्यमा प्रभावकारी काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो।








