ताप्लेजुङ। ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको छ ।
स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीले बजार क्षेत्रका केही घर जलेका छन्। आज दिउँसो अचानक आगलागी भएको हो ।
आगलागीको कारण खुलेको छैन। यद्यपि विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयवासीले समेत नियन्त्रणको प्रयासमा सहयोग गरिरहेका छन्। अन्य घरमा आगो फैलिन नदिन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।
“घटनास्थलमा दमकलसमेत पठाइएको उहाँले बताउनुभयो। आगलागीले कति घर जलेका भन्ने विवरण आएको छैन। आगो अहिले पनि लागिरहेको स्थानीयले बताएका छन्”, उहाँले भन्नुभयो ।
यसअघि पनि विसं २०७७ मा दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका-३ मा पर्ने दोभान बजार जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित छ । रासस








