काठमाडाैँ । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएको भन्दै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि तत्काल पूर्वतयारी गर्न सरकारसँग माग गर्नुभएको छ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले विपद्को सूचना जारी गरेर मात्र सरकारको दायित्व पूरा नहुने भन्दै प्रभावकारी उद्धार तथा राहतको योजना तत्काल सार्वजनिक गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
हालैको विनाशकारी बाढीको पीडा अझै ताजै रहेको उल्लेख गर्दै उहाँले थप जोखिम आउन सक्ने अवस्थामा सरकारले ‘पर्ख र हेर’को नीति त्याग्नुपर्ने बताउनुभयो। उहाँले जोखिमयुक्त बस्ती र परिवारको तत्काल पहिचान गरी आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन माग गर्नुभयो।

सांसद श्रेष्ठले सरकारी वेबसाइटमा सूचना राख्ने परम्परागत शैलीबाट मात्रै नागरिकलाई पूर्वसूचना दिन सम्भव नहुने भन्दै स्थानीय रेडियो, टेलिफोन, साइरन तथा घरदैलोमार्फत सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “पूर्वानुमान परिवर्तन हुन सक्छ, तर नागरिकको सुरक्षा सुनिश्चित गर्न अहिलेदेखि नै तयारी थाल्नुपर्छ। विपत्ति निश्चित भइसकेपछि मात्र तातेर केही हुँदैन।”
श्रेष्ठले सडक सुरक्षा र निर्माणस्थलमा कार्यरत श्रमिकको सुरक्षामा विशेष ध्यान दिन पनि सरकारसँग आग्रह गर्नुभयो। दशैँ नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने भएकाले जोखिमपूर्ण सडकखण्डको अनुगमन, वैकल्पिक मार्गको व्यवस्थापन तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन उहाँले माग गर्नुभयो।
त्यस्तै, उद्धार सामग्री र औषधि स्थानीय तहको नजिकै पूर्वतयारीका साथ भण्डारण गर्न तथा उद्धारमा खटिने सुरक्षाकर्मीको सुरक्षासमेत सुनिश्चित गर्न उहाँले सरकारलाई सचेत गराउनुभयो।







