काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भएको भ्रमणलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले असन्तुष्टि व्यक्त गरेको छ ।
प्रधानमन्त्रीको विदेश भ्रमणअघि संसदमा सम्बोधन गर्ने र सर्वदलीय परामर्श लिने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाउनुभएको हो ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले प्रधानमन्त्रीको राष्ट्रसंघ भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको विषय भएकाले यसका लागि पर्याप्त गृहकार्य आवश्यक हुने बताउनुभयो । राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुँदा नेपालको कूटनीतिक प्रभाव र कद बढ्ने उहाँको भनाइ थियो ।
‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले भ्रमणका क्रममा राष्ट्रिय सलामी नलिएको विषयमा पनि दुलालले टिप्पणी गर्नुभयो । त्रिशूली बाढीका कारण घोषित राष्ट्रिय शोकको सम्मानमा राष्ट्रिय सलामी नलिइएको भए त्यसलाई स्वाभाविक रूपमा लिन सकिने उहाँले बताउनुभयो । तर, राष्ट्रिय पहिचानसँग जोडिएका यस्ता प्रोटोकल परम्परागत र महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
यसैगरी, विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या घटाइएको विषयलाई भने दुलालले सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा हुने ‘साइडलाइन’ वार्ताको महत्वसमेत औँल्याउनुभयो । नेपालका विकास साझेदार मुलुकसँग द्विपक्षीय भेटवार्ता र छलफल नहुनु कूटनीतिक दृष्टिले कमजोरी हुन सक्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका प्राकृतिक विपत्ति तथा ‘क्लाइमेट जस्टिस’ अर्थात् जलवायु न्यायको मुद्दालाई सशक्त रूपमा उठाउनुपर्नेमा पनि दुलालले जोड दिनुभयो ।








