काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले कोषको समग्र सुधारमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
सांसद बरालले ३५ वर्षको इतिहास बोकेको नागरिक लगानी कोषले आधुनिक प्रविधि र गतिशील कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो । कोषमा रहेको ठूलो पुँजी बैंकमा स्थिर निक्षेपका रूपमा मात्र रहनुले यसको प्रभावकारितामाथि प्रश्न उठाएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हाल कोषको झन्डै ४९ प्रतिशत रकम बैंकमा स्थिर निक्षेपका रूपमा छ, जुन चिन्ताको विषय हो । उत्पादनशील क्षेत्रमा लगानी खोज्नु आजको प्रमुख आवश्यकता हो ।’
सांसद बरालले कोषको आन्तरिक सुशासन र निर्णय प्रक्रियामा देखिएको ढिलासुस्ती तथा अस्पष्टता अन्त्य गर्नुपर्ने बताउनुभयो । महालेखा परीक्षकको प्रतिवेदनले समेत कोषको कार्यशैलीमा देखिएका समस्यातर्फ औँल्याएको भन्दै उहाँले निर्णय प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कोषको जनशक्तिलाई प्रविधिमैत्री बनाउन तथा जोखिम न्यूनीकरणका आधुनिक औजारको उचित प्रयोग गर्न सुझाव दिनुभयो । तीन अर्बभन्दा बढी पुँजी परिचालन गर्ने क्षमता रहेको संस्थाको वित्तीय हितलाई केन्द्रमा राखेर ऐन संशोधन गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै उहाँले सापटी लगानीको उच्च दर र पूर्वाधारको अभावका कारण कोषको प्रगति खुम्चिएको बताउनुभयो ।
कोषको प्रभावकारी सञ्चालन र पुँजीको उत्पादनशील उपयोगका लागि विधायीकी भूमिका सशक्त बनाउनुपर्ने उहाँको भनाइ थियो ।








