प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद तामाङले कोषको लगानीका क्षेत्र विस्तार गर्ने प्रस्तावप्रति असहमति जनाउनुभएको हो ।
उहाँले नागरिक लगानी कोषको रकम घरजग्गा व्यवसायमा लगानी गर्ने प्रस्ताव जोखिमपूर्ण रहेको बताउँदै यसले वित्तीय संकट निम्त्याउन सक्ने चेतावनी दिनुभयो । विश्व अर्थतन्त्रमा रियल इस्टेट क्षेत्रमा आएको संकटले पारेको प्रभावलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले कोषको रकम त्यस्तो क्षेत्रमा लगानी गर्दा पर्याप्त सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै सांसद तामाङले ती क्षेत्रमा कोषमार्फत नाफामुखी लगानी गर्नु संविधानको भावनासँग मेल नखाने जिकिर गर्नुभयो । शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व हुनुपर्ने भन्दै उहाँले नागरिक लगानी कोषको लगानीले यी क्षेत्रको निजीकरणलाई प्रोत्साहन गर्न सक्ने धारणा राख्नुभयो ।
सांसद तामाङले बैंक तथा वित्तीय क्षेत्रमा अहिले पर्याप्त तरलता रहेको अवस्थामा नागरिक लगानी कोषको पुँजी बढाउनुपर्ने कारणसमेत स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभयो । कोषको पुँजी संरचनामा सरकार, बीमा कम्पनी तथा वित्तीय संस्थाको प्रमुख भूमिका रहेको उल्लेख गर्दै उहाँले जनताको थप पुँजी परिचालन नगरी सरकारी संयन्त्रभित्रकै रकम परिचालन गर्दा त्यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो ।







