काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षतिपछिको पुनर्निर्माणमा जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा (एमाले) सम्बद्ध युवा संगठनका सदस्यहरू सुरुदेखि नै उद्धार तथा राहत वितरणमा सक्रिय रहेको उल्लेख गर्नुभयो । युवाहरूले बाढीका क्रममा फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको उदाहरण प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘के माटो र बेल्चा नछोई देशको विकास सम्भव छ ? सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ ।’
विगतमा ‘शहीद मार्ग’ निर्माणका क्रममा जनताले आफ्नै पाखुराको बलमा काम गरेको स्मरण गर्दै उहाँले त्यही श्रम संस्कृतिलाई पुनः ब्युँत्याउनुपर्नेमा जोड दिनुभयो ।
हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै उहाँले युवाहरूलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह गर्नुभयो । विपद्को यस घडीमा राहतको पर्खाइमा मात्र बस्नुभन्दा सामूहिक जनश्रमदानमार्फत भत्किएका संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि जनताको सहभागिता सुनिश्चित गर्न संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो ।








