७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
अ+ अ-

नुवाकोट। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ ।

भोटेकोशीको भीषण बाढीले ३०० परिवारको आश्रय मात्र बगाएन, प्रत्येक घरबाट आफ्ना प्रियजन पनि खोसेर लग्यो । बाँचेकाहरू सुरक्षित ठाउँको खोजीमा खाली हात नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारे आइपुगेका छन् ।

प्रारम्भिक तथ्याङ्कअनुसार खाल्डेबाट मात्रै ३१५ जना हराइरहेका छन् । उत्तरगया–१ का अध्यक्ष मारसिंह तामाङका अनुसार वडाका विभिन्न बस्तीबाट हराउनेको सङ्ख्या ४३१ पुगेको छ । त्यहाँका अधिकांश परिवार २०७२ सालको भूकम्पपछि साबिक हाकुका विभिन्न बस्तीबाट विस्थापित भई सुरक्षित जीवनको खोजीमा आएका थिए । भूकम्पले थातथलो खोसेपछि सुरक्षित आश्रय खोजेर बसेका उनीहरूलाई यसपटकको बाढीले पुनः विस्थापित मात्र बनाएन, परिवारका सदस्य, आफन्तजन र जे जति थियो–आफ्नो सबै सम्पत्ति गुमाएका छन् ।

साबिक हाकु गाविसअन्तर्गतका सल्लेटार, मैलुङ, गोगने, तिरु, सुर्चेतखर्क, कर्माराङ लगायतका बस्ती २०७२ सालको भूकम्पबाट नराम्ररी प्रभावित भएका थिए । सरकारी तथ्याङ्कअनुसार गोगने, तिरुलगायतका बस्तीमा ६१ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पको कारण पहिरोको जोखिम बढेपछि भूगर्भीय अध्ययनबाट हाकु क्षेत्रमा १०१ भन्दा बढी भूकम्पजन्य पहिरो पहिचान गरियो । त्यसपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेर खाल्डेमा बन्दोबस्ती गरिएको थियाो तर अहिले खाल्डेसहित आसपासका बस्तीमा परिवारको सदस्य नगुमाएका व्यक्ति भेट्न मुस्किल छ ।

उत्तरगया–१ का पूर्ववडाध्यक्ष बमहादुर तामाङका अनुसार हाकुबाट विस्थापित करिब ३०० घरधुरी खाल्डेमा बस्दै आएका थिए । गत भदौ १० गतेको भीषण बाढीले उनीहरूको आश्रय मात्र होइन, पूरै बस्ती नै बगाइदियो । घर र संरचना बगेपछि अहिले खाल्डेको बस्ती भएको ठाउँमा त्रिशूली नदी बगिरहेको छ ।

“भूकम्पमा ज्यान जोगाएर सुरक्षित ठाउँमा बस्न पाइन्छ भनेर हिँडेकालाई अहिलेको बाढीले सर्वस्वनाश ग¥यो,” उहाँले भन्नुभयो, “३१५ जना सम्पर्कविहीन भएकामध्ये एक जनाको मात्रै शव भेट्टिएको छ । अरूको अवस्था थाहा हुन सकेको छैन । कुनै परिवारमा त घेवा (किरिया) गर्ने पनि बाँकी छैनन् । केही त परिवारका सबै गुमाएर आफू एक्लो मात्रै बाँचेको अवस्था छ ।”

खाल्डेमा बसोबास गर्न बाढीको दृष्टिले जोखिमयुक्त रहेको स्थानीयलाई थाहा थियो तर भूकम्पबाट विस्थापित परिवारसँग तत्काल अर्को विकल्प नभएकाले त्यहीँ अस्थायी टहरा बनाएर बस्नुपरेको पूर्ववडाध्यक्ष तामाङले दाबी छ ।

“खाल्डे जोखिमयुक्त ठाउँ हो भन्ने थाहा थियो । त्रिशूलीको किनार भएकाले बस्ती नराखौँ भन्ने कुरा उठाएका थियौँ तर विस्थापित परिवारलाई बस्ने अर्को ठाउँ र सहयोगको व्यवस्था भएन,” उहाँले भन्नुभयो, “त्यसैले, भूकम्प पीडितले जस्ताको टहरा बनाएर बस्ती बसाए ।”

भूकम्पपीडितलाई सरकारले घर निर्माणका लागि उपलब्ध गराउने अनुदान र पुनःस्थापनाका क्रममा सुरक्षित स्थानमा बसोबासको विषयमा खाल्डेको विकल्प खोज्न सुझाएको उहाँको जिकिर छ तर स्थानीयको चाहना अनि विभिन्न दबाबका कारण बस्ती निर्माण रोक्न नसकेको उहाँले बताउनुभयो ।

“त्यतिबेला जोखिमका कारण घर बनाउन रोक्न खोजिएको थियो तर चौतर्फी दबाब आयो । रोक्न सकिएन, लचक हुनुप¥यो,” उहाँले भन्नुभयो, “अहिले फर्केर हेर्दा त्यतिबेला जोखिमयुक्त ठाउँमा बस्ती बस्न दिनु हुँदैनथ्यो भन्ने लाग्दछ ।”

बाढीले उत्तरगया गाउँपालिका–१ अन्तर्गतको सल्लेटार र मैलुङको पहिचानसँग जोडिएका जलविद्युत् आयोजनासहितका संरचना पनि प्रभावित भएका छन् । भूकम्पका कारण पुरानो थातथलो गुमाएका हाकुवासीले नयाँ ठाउँमा खाल्डे र यस आपासमा बनाएका आश्रय बाढीले बगाएपछि उनीहरू पुनः विस्थापित भएका छन् । पहिला जन्मिएको ठाउँ छाडेर निस्केका उनीहरु अहिले जिल्ला नै छाडेर नुवाकोट आइपुगेका छन । एकसरो कपडामा सुरक्षित स्थानको खोजीमा आएका उनीहरुमध्ये अधिकांशले परिवारका सदस्यमध्ये केहीलाई भोटेकोशी बाढीपछि गुमाउन बाध्य भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार एवम् बेपत्ता व्यक्तिको पहिचानको काम जारी छ । सरकारी विवरणअनुसार बाढीमा परेर ठूलो सङ्ख्यामा मानिस बेपत्ता छन् र शव पहिचान तथा ‘डिएनए’ परीक्षणको काम पनि भइरहेको छ ।

हाकुबासीका लागि भने यसपटकको बाढी अर्को विपद् मात्र होइन, विस्थापनको अर्को अध्याय बनेको छ । २०७२ सालको भूकम्पले पुख्र्यौली थातथलोबाट उठिबास बनाएको उनीहरुलाई सुरक्षित जीवनको खोजीमा आएको नयाँ ठाउँ खाल्डेले क्षणभरमै परिवारका सदस्यसहित सर्वस्व खोसिदिएको छ ।

भूकम्पले घरबास खोस्यो, पहिरोले थातथलो असुरक्षित बनायो र बाढीले आश्रयसमेत खोस्यो । नयाँ आश्रयको खोजीमा नुवाकोट आइपुगेका हाकुवासीसँग अहिले आफन्तको खोजी, बाढीले बगाएको घरको सम्झना र फेरि सुरक्षित ठाउँमा जीवन कहाँ र कसरी सुरु गर्ने भन्ने अन्योलता मात्र बाँकी छ । रासस