काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको एक विद्यालयलाई पाँच करोड रुपैयाँ बराबरको शैक्षिक सहयोग गर्ने भएका छन्।
पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको भवन निर्माण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि शर्माले उक्त सहयोग गर्ने सम्झौता गरेका हुन्।
सम्झौताअनुसार विद्यालयको नाम परिवर्तन गरी ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिनेछ। विद्यालयको नाम शर्माका हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको नाममा राख्न लागिएको हो।
विद्यालयको भौतिक पूर्वाधार विकासका लागि शर्माले तीन करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार विद्यालयको नाम परिवर्तनका लागि आवश्यक तीन करोड रुपैयाँसमेत शर्माले हस्तान्तरण गरिसकेका छन्।
त्यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत सोही विद्यालयका विद्यार्थीलाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइनेछ। छात्रवृत्तिमा केएमसीमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटी लगायतका कार्यक्रमको अध्ययन शुल्क समेटिनेछ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङबीच नाम परिवर्तन तथा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
डा. शर्माले विद्यालयको नाम आफ्ना पुर्खाको नाममा राख्ने कार्यसँगै शिक्षा र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने उद्देश्य रहेको बताए। उनले मोरङ र धनकुटापछि हुम्लाको चङ्खेलीस्थित विद्यालयमा समेत सहयोग गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
शर्माले धनकुटाका नागरिकका लागि काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्न १०० वटा कोटा छुट्याएको पनि घोषणा गरे। उनका अनुसार आर्थिक रूपमा विपन्न धनकुटावासीले निःशुल्क उपचार पाउनेछन् भने ५० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ।
शर्माले आफूले अध्ययन गरेको मोरङको क्षेत्र नम्बर २ स्थित प्राथमिक विद्यालयमा पनि भवन निर्माण गरिरहेको बताए। उक्त विद्यालयमा आफ्ना बुबाआमाको नाम जोडिएको उल्लेख गर्दै उनले हुम्लाको चङ्खेलीमा पनि सहयोग गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए।
यसअघि शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न दुई करोड रुपैयाँ सहयोग गरेका थिए। सहयोगपछि उक्त विद्यालयको नाम ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो।








