काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो बनाउनुपर्ने बताउनुभएको छ।
परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले सेवाभावलाई केन्द्रमा राखी विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको हो।
नेपाल सरकारका नीति तथा प्राथमिकतासँग समन्वय गरी सामाजिक संघसंस्थाको योगदानलाई दिगो विकासका लक्ष्यअनुरूप परिणाममुखी बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
मन्त्री बादीले शिक्षा, स्वास्थ्य, सीप विकास, महिला तथा बालबालिका, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, वातावरण, रोजगारी, कृषि तथा सामाजिक संरक्षणलगायत क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै रसुवा–भोटेकोशी विपद्मा राहत व्यवस्थापन तथा पुनर्स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ।
उहाँले परिषद्को सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन डिजिटाइजेसनमा लैजाने आवश्यकता औँल्याउनुभएको छ। डिजिटल सेवा विस्तारसँगै सेवाग्राहीले टाढा–टाढाबाट काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भई परिषद्को सेवा नागरिकको पहुँचमा पुग्ने उहाँको विश्वास छ।
मन्त्री बादीले कार्यक्रम स्वीकृति, सहजीकरण, समन्वय, अनुगमन, मूल्याङ्कन तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउँदै स्थापना दिवसलाई सामाजिक संघसंस्था तथा समाजसेवीले आफ्ना कामको समीक्षा र स्वमूल्याङ्कन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ।
अन्त्यमा, उहाँले सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था एवं समाजसेवीलाई शुभकामना दिँदै समाज कल्याण, सेवा र विकासका कार्य अझ प्रभावकारी, व्यापक र जनमुखी बनी देश विकासमा ठोस योगदान पुर्याउन सकून् भन्ने कामना गर्नुभएको छ।








