५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल
अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावितको पुनःस्थापनालाई सुरक्षित आवासमा मात्र सीमित नगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विशेष संरक्षण आवश्यक भएका नागरिकको सुरक्षा, हेरचाह र सामाजिक संरक्षणलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने बताउनुभएको छ।

मन्त्री बादीले सोमबार मन्त्रालयमा रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भेट गरी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा उद्धार, अस्थायी आवास, दीर्घकालीन पुनःस्थापना तथा प्रभावित नागरिकको सामाजिक संरक्षणका विषयमा छलफल गर्नुभएको हो।

छलफलमा मन्त्री बादीले विपद्बाट प्रभावित नागरिकको वास्तविक आवश्यकता पहिचान गरी तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सामाजिक संरक्षणका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले जोखिममा रहेका सबै समूहको अवस्था र आवश्यकता फरक हुने भएकाले लक्षित कार्यक्रममार्फत संरक्षण र सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री बादीले बाढी तथा अन्य विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि ‘स्याहार योजना’ अघि बढाइरहेको जानकारी दिनुभयो। योजनामार्फत त्यस्ता बालबालिकाको लालनपालन, स्वास्थ्य, शिक्षा, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन तथा भविष्यको व्यवस्थापनमा राज्यको जिम्मेवारीलाई प्रभावकारी बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो।

त्यस्तै, ‘विपद् प्रभावित बालबालिकाको अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन निर्देशिका, २०८३’अनुसार आवश्यक स्थान पहिचान गरी अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको मन्त्री बादीले जानकारी दिनुभयो। आवश्यकता भएका स्थानमा यस्ता केन्द्र चाँडै सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो।

अस्थायी संरक्षण सेवा केन्द्रमार्फत विपद्बाट प्रभावित बालबालिकाको तत्काल सुरक्षा, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, परिवार खोजतलास तथा पुनर्मिलन र आवश्यकताअनुसार वैकल्पिक हेरचाहको व्यवस्था गरिनेछ।

मन्त्री बादीले बाढी प्रभावित महिला तथा किशोरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि समेत विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्याकेज कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। विपद्का समयमा बढी जोखिममा पर्न सक्ने समूहको अवस्था पहिचान गरी उनीहरूलाई लक्षित सेवा, सहयोग र संरक्षण उपलब्ध गराउने गरी कार्यक्रम निर्माण गरिने उहाँको भनाइ थियो।

“विपद्को असर सबै नागरिकमा समान हुँदैन। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका आवश्यकता फरक हुन्छन्। त्यसैले राहतदेखि पुनःस्थापनासम्म उनीहरूको विशिष्ट आवश्यकतालाई केन्द्रमा राखेर राज्यको उपस्थिति सुनिश्चित गर्नुपर्छ,” मन्त्री बादीले भन्नुभयो।

उहाँले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सेवा तथा आवास, ज्येष्ठ नागरिकका लागि सुरक्षित बसोबास र हेरचाह, महिला तथा किशोरीका लागि सुरक्षा र आवश्यक संरक्षण तथा बालबालिकाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय गरी काम गरिने बताउनुभयो।

मन्त्री बादीले प्रभावितलाई पुनः जोखिममा पर्ने स्थानमा बसोबास गराउने अवस्था आउन नहुने उल्लेख गर्दै सुरक्षित स्थान पहिचान गरी व्यवस्थित र दीर्घकालीन पुनःस्थापनाको योजना बनाउनुपर्ने बताउनुभयो। सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी स्थानीय आवश्यकता, जोखिम र उपलब्ध स्रोतसाधनका आधारमा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत तथा उद्धार, प्रभावित परिवारको अवस्था र पुनःस्थापनाका लागि स्थानीय तहबाट भइरहेको तयारीबारे मन्त्री बादीलाई जानकारी गराउनुभयो।

अध्यक्ष अर्यालले प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनालाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने तथा विभिन्न गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त सहयोगलाई प्रभावितको वास्तविक आवश्यकताका आधारमा परिचालन गर्नुपर्ने बताउनुभयो।

छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान, राहत तथा संरक्षण सेवाको पहुँच, अस्थायी आवास, दीर्घकालीन पुनःस्थापना तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि लक्षित संरक्षण र सामाजिक सुरक्षाका विषयमा समेत छलफल भएको थियो।

मन्त्री बादीले बाढीपछिको पुनःस्थापनालाई घर तथा भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी प्रभावित नागरिकको जीवन, सुरक्षा, सम्मान, हेरचाह, सामाजिक संरक्षण र भविष्य सुनिश्चित गर्ने समग्र पुनःस्थापनाको अभियानका रूपमा अघि बढाइने बताउनुभयो।