काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।
प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको तथ्यांक यकिन गर्ने विषयमा गहन छलफल भएको हो।
छलफलमा सम्पर्कविहीन व्यक्तिका आफन्तले सम्बन्धित जिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोटमा समेत नाम टिपाएको पाइएको जानकारी गराइएको थियो। यसका कारण एउटै व्यक्तिको नाम विभिन्न स्थानबाट टिपोट भई तथ्यांकमा दोहोरोपन देखिएको भन्दै त्यस्ता नामहरू रुजु गरी वास्तविक संख्या यकिन गर्नुपर्नेमा जोड दिइएको छ।
तथ्यांकमा देखिएको दोहोरोपन हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो जिल्लामा आवश्यक रुजु गर्ने र यकिन भएको विवरण ‘सेतु एप’मा प्रविष्ट गर्ने सहमति भएको छ।
छलफलबाट जिल्लागत रूपमा प्राप्त विवरणलाई पुनः परीक्षण गरी सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक तथ्यांक तयार गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।








