१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल



अ+ अ-

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’को निर्णयअनुसार नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) र विपद् व्यवस्थापन संयोजक हिक्मत सिंह ऐरसहित बसेको को बैठकले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका पर्यटन सेवा प्रदायकको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारामलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ । विवरण संकलनका लागि फाराम अनलाइनमार्फत उपलब्ध गराइनेछ । त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ । बैठकले कैलाश–मानसरोवर यात्राका लागि नेपाल–चीन सीमामा वैकल्पिक नाका सञ्चालन गर्न कूटनीतिक पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

यसबाट कैलाश–मानसरोवर यात्रामा परेको सम्भावित प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । लाङ्टाङ क्षेत्रमा चालु सिजनमै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेली ब्रिज निर्माणका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, रसुवाको धुन्चे पुग्ने वैकल्पिक सडक मार्गको नक्सा तयार गर्ने निर्णय भएको छ । सडकको अवस्थाबारे पर्यटकलाई नियमित र विश्वसनीय सूचना उपलब्ध गराउन नेपाल प्रहरीको ट्राफिक कार्यालय तथा पर्यटक प्रहरीबाट सडक सञ्चालनसम्बन्धी सूचना प्राप्त गरी नेपाल पर्यटन बोर्डका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढंगले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको छ । यसका लागि वास्तविक अवस्था र नियमित सूचनालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ। नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगगठन र पाटालगायतका अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष भरत जंग पाण्डे, नेपाल पर्वतारोहण संघ, होटल व्यवसायी महासंघ, नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार संघ, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरू सहभागी थिए ।