काठमाडौं । त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण सडक सम्पर्कबाट प्रभावित बनेको नुवाकोटको त्रिशूली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सुचारु गरिएको हो।
सडक सञ्चालनमा आएसँगै त्रिशूली नदी पारीका विभिन्न क्षेत्रका नागरिकलाई सदरमुकामलगायत अन्य स्थानसँग पुनः सडक पहुँच स्थापित भएको मन्त्रालयले जनाएको छ।
सडक सुचारु भएपछि बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न र अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहज हुने अपेक्षा गरिएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूलाई प्राथमिकताका आधारमा मर्मत तथा पुनःस्थापना गरी यातायात सेवा सञ्चालनमा ल्याउने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।









