काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि सङ्कलित राहत सामग्री वितरणमा सरकारनिकट संस्थालाई मात्र प्राथमिकता दिइएको भन्दै आपत्ति जनाएका छन्।
कांग्रेसले आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा आङ्देम्बेले राहत वितरणको प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने बताएका हुन्।
उनका अनुसार शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा पनि आफूले राहत वितरणमा ‘हामी नेपाल’ संस्थालाई मात्रै अवसर दिइएको भन्ने गुनासोबारे ध्यानाकर्षण गराएका थिए।
गृहमन्त्री सुधन गुरुङनिकट मानिने उक्त संस्थामार्फत मात्रै राहत वितरण गर्दा वास्तविक प्रभावितसम्म सामग्री पुग्न ढिलाइ हुन सक्ने उनको भनाइ थियो।
आङ्देम्बेले राहत सामग्री वितरणमा स्थानीय तह, जिल्ला प्रशासन तथा राज्यले मान्यता दिएका विभिन्न सङ्घसंस्थालाई समेत परिचालन गर्नुपर्नेमा जोड दिए। विपद्का बेला राहत समयमै प्रभावित क्षेत्रमा नपुगे त्यसको उद्देश्य नै पूरा नहुने उनले बताए।
उनले विशेषगरी रसुवामा राहत सामग्री पर्याप्त रूपमा नपुगेको गुनासो आएको उल्लेख गरे। नुवाकोटको विदुरमा राहत सामग्री थुप्रिए पनि बाढीबाट अत्यधिक प्रभावित रसुवामा आवश्यक सामग्री नपुग्नु गम्भीर विषय भएको उनको भनाइ थियो।
कांग्रेसले विपद्का बेला राजनीतिक प्रचारभन्दा मानवीय सेवामै ध्यान केन्द्रित गर्नुपर्ने नीति लिएको आङ्देम्बेले बताए। पार्टीका भ्रातृ संस्थाहरू, विशेषगरी नेपाल तरुण दललाई समेत पार्टीको झन्डा प्रयोग नगरी राहत तथा उद्धारमा खटिन निर्देशन दिइएको उनले जानकारी दिए।
आङ्देम्बेले भोटेकोशी र त्रिशूलीमा पुलहरू बगाएकाले प्रभावित क्षेत्रमा तत्काल आवतजावत सहज बनाउन अस्थायी रूपमा तुइनको व्यवस्था गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरिएको पनि बताए।
उनलेे विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई समेत तत्काल प्रवेशको अनुमति दिन सरकारसँग माग गरिएको जानकारी दिए। नेपाली उद्धार टोलीको क्षमताले मात्रै सबै क्षेत्रमा उद्धार गर्न सम्भव नहुने









