१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारका आकाशे र उडन्ते गफले जनता निराश: डा. महत



अ+ अ-


काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’


महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिले पनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने,‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ ।

उनले भने,‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ ।’

अहिले देशमा भ्रष्टाचार, लुटतन्त्रका बारेमा कुरा उठेको पनि उनले सुनाए । उनले भने,‘संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकत्ता छ ।’


त्यस्तै, संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय संरचनाहरु अझै बन्न नसकेको महतको आरोप छ । उनले भने,‘अझैपनि तीन तहका सरकारका क्षमता अभिवृद्धि भएको छैन् । तीन तहका सरकारको क्षमता अभिवृद्धिमा ध्यान पुगेको छैन् । विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् ।’

महतले भने,‘अहिले विलासी वस्तु, तलब, भत्तामा बढी खर्च भैरहेको छ । पुँजीगत खर्च कम छ । राजश्वले प्रशासनिक खर्च धान्दैन ।’ करदाताहरुको रकम व्यापक दुरुपयोग भएको उनको टिप्पणी छ ।

सरकारले खर्च बढाएकोमा पनि उनले असन्तुष्टि पोखे । उनले भने,‘सरकारले राष्ट्रिय ऋण बढाईरहेको छ । यो वर्ष ५ सय अर्ब ऋण पुर्याएको छ । जसमा आन्तरिकतर्फ २ सय अर्ब र बाहृयतर्फ ३ सय अर्ब छ ।’

उनले भने,‘चार वर्ष पहिले पनि हामी नै सरकारमा हुँदा जि.डि.पी.को २५ प्रतिशतमात्रै ऋण थियो, अहिले त्यो बढेर ३० प्रतिशत पुगेको छ ।’

महतले वर्तमान सरकारले काम गर्ने र उत्पादकत्व बढाउने कल्चरको विकास गर्नुपर्नेतर्फ पनि सुझाव दिए । तर, सरकारले त पार्टीकरणमा बढि ध्यान दिएको उनको आरोप छ । उनले भने,‘नेपालमा भएको जनशक्तिको पनि सही सदुपयोग भएको छैन् । दक्ष र क्षमता भएका मान्छेले पनि पार्टीको मान्छे नभएको कारण मौका पाएका छैनन् । प्रशासनमा पनि अहिले राजनीतिकरण भएको छ ।’

उनले आर्थिक वृद्धिदर ७ प्रतिशत हाँसिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे । उनले भने,‘सालाखाल ६ प्रतिशत वृद्धि भएको छ । ६ प्रतिशत वृद्धि हुनुपनि राम्रै कुरा हो, तर कसरी ७ प्रतिशत वृद्धिद्धर हाँसिल भयो भन्ने कुरा मैले बुझेको छैन् ।’