काठमाडौं । रसुवामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछि समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ।
परिषद्ले आज जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो।
साथै, गैरसरकारी संघ–संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध गरिएको छ।
परिषद्ले विपद्को समयमा प्रभावित नागरिकसम्म सहायता पुर्याउन सामाजिक संघ–संस्थाहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ।








