१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम



अ+ अ-

काठमाडौं । चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन ।

जल विज्ञान तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बततर्फ मेतेरी पुलबाट करिब १० किलोमिटर माथि लेन्दे खोला थुनिएको अनुमान गरिएको छ । सो स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेसम्म भोटेकोसी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको केन्द्रका बाढीविद् विनोद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले अर्को सूचना जारी नभएसम्म भोटेकोसी तथा त्रिशूली नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गर्नुभयो । “चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा खुलेको छैन । त्यसैले भोटेकोसी र त्रिशूली क्षेत्रमा जोखिम कायमै छ”, उहाँले भन्नुभयो ।

केन्द्रले नदीको जलसतह तथा माथिल्लो क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । केन्द्रका अनुसार देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ ।

केन्द्रको आकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ । यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ ।

यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुबान हुने सम्भावना कम छ । तथापि अर्को सूचना जारी नहुँदासम्म नदीको छेउछाउका बस्ती–बजारका बासिन्दाहरू सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ ।




भर्खरै