४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने



अ+ अ-

काठमाडाैँ । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी गोसाइँकुण्ड जाने भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर पाँच चिकित्सकसहित सातजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दियो । डा सिभानी रायमाझीको नेतृत्वमा डा टपेन्द्र ढकाल, डा अविनाशकुमार शाह, डा उदय पाण्डे, डा प्रज्ज्वल लुइँटेल, चिकित्सा शिक्षाका विद्यार्थी नम्रता अधिकारी र सहयोगी प्रकाश खत्री गोसाइँकुण्ड प्रस्थान गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले गोसाइँकुण्ड जाने तीर्थयात्रीको सुविधाका लागि चिकित्सक टोली गोसाइँकुण्डमा पठाइएको जानकारी दिनुभयो । टोलीले एकादशीदेखि पूर्णिमासम्म गोसाइँकुण्डमा तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्ने छ । समुद्री सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) समस्या देखिन थालेपछि सङ्घले सन् १९९७ देखि निरन्तर रुपमा त्यहाँ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।

लेक लाग्ने समस्या शतप्रतिशत रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा कतिपयले ज्यान गुमाउने गरेका छन् । लेक लाग्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेकाले विशेष ध्यान दिनुपर्ने सङ्घले जनाएको छ । तीर्थयात्रीलाई सचेत गराउन यस वर्ष सङ्घले यस सम्बन्धी जानकारीमूलक सामग्री वितरण गर्ने योजना बनाएको छ । गत वर्ष सङ्घले ५०० भन्दा बढी बिरामीको उपचार गरेको थियो ।