काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वामपन्थी शक्तिहरु पार्टी संगठनभन्दा सरकार निर्माणमा केन्द्रित हुँदा कम्युनिष्ट आन्दोलन क्षयिकरण हुँदै गएको निष्कर्ष सुनाउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो निष्कर्ष सुनाउनुभएको हो ।
विगतमा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारको छोटो कार्यकालले असाधारण जनमत निर्माण गर्न योगदान गरेपनि त्यसपछिका कम्युनिष्ट सरकारहरूले जनमतको क्षयीकरण उहाँको तर्क छ ।
उहाँले कम्युनिष्टहरू संघर्ष र क्रान्तिको अवस्थामा सक्रिय हुने भएपनि शान्तिपूर्ण प्रतिष्पर्धामार्फत शक्ति आर्जन गरी समाजवाद निर्माण गर्ने विषयमा चुकेको बताउनु भयो । लोकतन्त्रमाथि संकट आए पुनः लोकतन्त्र स्थापनाका लागि कम्युनिष्ट शक्तिहरु तयार रहेको समेत उहाँको दाबी छ । उहाँले सरकारलाई मात्रै शक्ति आर्जन र परिवर्तनको माध्यम ठान्ने प्रवृत्तिको समीक्षा गर्दै पार्टी र आन्दोलनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा चाहीँ बढी उत्तेलित हुँदा रहेछौँ । अहिले पनि घनश्यामजीको भाषामा भन्ने हो भने लफंगाहरुको शासनविरुद्ध लडनुपर्यो भने चाँही यो शक्ति संक्षम छ । यलि फेरि लोकतन्त्रमाथि संकट आयो भने यो पंक्ति तयार छ । फेरी लोकतन्त्र स्थापित गर्ने सामथ्र्य राख्दछ । तर हामी कहाँ चुक्यौँ ? हामी भनिरहेका छौँ, शान्तीपूर्ण प्रतिस्पर्धाको माध्यमबाट शक्ति स्थापना गर्ने र त्यो शक्तिलाई सञ्चित गरिकन समाजवाद निर्माण गर्ने कुरा गरिरहेका छौँ । शक्ति आर्जन गर्ने र शक्ति सुदृढ गर्ने र त्यसका माध्यमबाट परिवर्तनको नयाँ यात्रा थाल्ने कुराका सन्दर्भका बारेमा केन्द्रीय प्रश्न हामीले केलाई बनायौँ त भन्दाखेरी सरकारलाई बनायौँ । तर विडम्बनाको कुरामा हामी सरकारमार्फत जनमत निर्माण गर्न सक्यौँ कि सकेनौँ भन्ने कुरामा हामीले दुई पटक जनमत निर्माण गरेको देखिन्छ । एक पटक मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा छोटो समयमा सरकारले गरेको कामले असाधारण जनमत प्राप्त गर्न योगदान गर्यो । तर त्यो नौ महिनामात्रै चल्यो । त्यसपछि संविधान निर्माण भएपछि केपी ओली नेतृत्वको सरकार । त्यो सरकार पनि नौ महिना नै चल्यो । जनमत निर्माणका हिसाबले हेर्ने हो भने त्यो सरकार पनि असाधारण रह्यो । तर त्यसपछिका सरकारले जनमतको क्षयीकरण गर्यो । आज कम्युनिष्ट आन्दोलन किन कमजोर भयो भन्दाखेरी पार्टीसँग कम र सरकार निर्माणको सन्दर्भमा ज्यादा जोडिएको छ भन्ने मलाई लाग्दछ ।’
महासचिव पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल










