४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मिथिलामा अचम्मलाग्दा लोक विश्वास, असामाजिक अन्धविश्वासले कता लैजाँदैछ समाजलाइ ?

मिथिलामा अचम्मलाग्दा लोक विश्वास, असामाजिक अन्धविश्वासले कता लैजाँदैछ समाजलाइ ?
अ+ अ-

जनकपुरधामः मिथिलामा विद्यमान लोक विश्वासका अनुत्पादक अन्धविश्वास समाप्त गरी नयाँस्वरूप दिनुपर्ने आवश्यकता देखिएको छ । परापूर्वकालदेखि धर्म, संस्कृति, जीवनशैली र जीवनका अवस्थामा आएको विकृतिले धाँमीझाँक्री, टुनामुना, भूतप्रेत र बोक्सीजस्ता लोक विश्वासलाई जन्माएकाले यसप्रति विश्वास मिथिलामा पाइन्छ ।

‘मर्द बरूआर रहैत छैक त बेटा होइत छैक, मौगी जबद्गर भेल त बेटी जन्म लैत छैक’ (पुरूष बलियो भयो भने छोरा जन्मिन्छ, महिला कमजोर भएमा छोरी जन्मिन्छे) जस्ता अन्धविश्वास पनि त्यही कारकतत्वद्वारा कालक्रममा परिपोषण हुँदै आएको देखिन्छ ।

बोक्सीले गर्भमै बच्चा खाइहाल्ने, निःसन्तान बनाइदिने, किचकिन्नीले सुन्दर युवकलाई एकान्तमा देखेमा जीवित युवतीका रूपमा युवकलाई मोहित गरी युवकसँग रतिक्रीडा गराइ युवकलाई मार्नेजस्ता लोकविश्वास पनि रहेको छ ।

मिथिलाको राँके भूतले रातिमा खेत खलियानमा राँको लिइ डुल्दै रहन्छ, मान्छेलाई देखेमा मान्छेसँग खेतमा माटो ढुवानी गराउने गरेको, देवी विभिन्न रूखमा वास गर्छिन्, देवीको हातमा पनि राँको हुन्छ र सुतिरहेको मान्छेको छातीमाथि प्रहार गरी मान्छेलाई मार्ने गरेको लोकविश्वास पनि विद्यमान छ ।

गर्भवती स्त्रीको मृत्यु भएमा प्रेतिनी हुन्छिन् र घरमा नयाँ जन्म लिएको शिशुलाई दुःख दिइ मार्ने गरेको, ब्राह्मणको असामयिक मृत्यु भएमा ब्रह्म पिचास हुन्छ र कुमारीको मृत्यु भएमा देवी हुने विश्वास पाइन्छ । पानीमा डुबेर मर्ने पनि डुब्बा भइहाल्छ, प्रेत ताडको रूख झैँ लामो हुन्छ, सेतो लगाइ कहिले कुकुर त कहिले बिरालोका रूपमा मान्छेलाई तर्साउने गरेको प्रशङ्ग पनि बुढापाकाले सुनाउने गरेका छन् ।

भूत रूखको हाँगामा पिङ खेल्ने गरेको, आधा रातिमै बिहान भएको भ्रम उत्पन्न गर्ने गरेको, बोक्सीले बोक्सी विद्या हासिल गर्न पति वा छोरालाई मारेर गुरूलाई खुशी पार्ने गरेको विश्वास पनि मिथिला क्षेत्रमा व्याप्त छ । बोक्सी विद्या हासिल गर्ने सन्दर्भमा गुरूले प्रश्न गर्छिन्, “मन्त्र सिकेपछि मलाई घरको बरेडी वा बीचको खम्भा (बोक्सी विद्यामा बरेडी भनेको पति र खम्भा भनेको छोरा) मध्ये कसलाई दिन्छौँ ।”

बोक्सी अमावस्या र दशैँको राति मान्छेको खप्परमा खीर पकाएर श्मसानमा नाङ्गै नाच्ने गरेको, गाडिएको शिशुको शव खाल्डोबाट निकालेर मन्त्रले जीवित पार्दै तेल र गाजल लगाई खेलाउँछ र घर फर्किने बेलामा पुनःशिशुलाई मारेर खाल्डोमा गाड्ने गरेको बखत कसैले देख्यो भने बोक्सीले, ‘घुरी ताक, घुरी ताक (फर्की हेर, फर्की हेर)’ भनि कराउँछे । यदि त्यो व्यक्ति बोक्सीतिर फर्कियो भने त्यसको मृत्यु हुन्छ । घरमा बोक्सी आइन भने सियो धागोको नाम लिएमा बोक्सी भाग्ने गरेको र बोक्सी श्मसान जान नपाउन र मन्त्रको प्रयोग गर्न नपाउन भनेर रातिमा झिझिया नाचको आयोजनासमेत गरिन्छ ।

बोक्सीले चौबाटोमा कुभिण्डोको बलि दिइ अरहुलको फूल, सिन्दुर, गाजल, टीका, सियो, धागो राखी पूजा गर्छन् र त्यो चौबाटोबाट हिँड्दा मान्छेको मृत्यु हुने गरेको लोक विश्वास छ । मिथिलामा अतिमानवीय तत्वसँग सम्बन्धित लोक विश्वासका साथै टुनामुना पनि छ । जसको कुनै वैज्ञानिक आधार छैन । सोमध्ये कुकुरलाई मल त्याग गरिरहेका अवस्थामा हेरेमा आनो हुन्छ, ढाड र पिँठ्यू दुखेमा उल्टो जन्मेको व्यक्तिलाई स्पर्श गर्न लगाउने चलन अधिक देखिएको छ ।

कसैको टुप्पी काटेर गाडियो भने त्यो व्यक्ति त्यही बसेको बसे गर्छ, वर्षायाममा गोरो मान्छे चिप्लियो भने मौसममा सुधार हुने र उल्कापात हेरेमा अनिष्ट हुने विश्वाससमेत पाइन्छ ।

उल्कापात हेरेमा पाँच वटा फल, पाँच वटा ब्राह्मणको नाम उच्चारण गरेमा अनिष्टबाट मुक्ति पाइने विश्वास पनि देखिएको छ । हुटिटांय(हुटिट्याउ) करायो भने अशुभ हुने, माउसुली करायो भने सोचेको कुरा पूरा हुने, घरेडीमा स्याल करायो भने भावी घटनाको सूचक मानिन्छ ।

संस्कृतिविद् डा राजेन्द्रप्रसाद विमल बोक्सी, तन्त्रमन्त्रमा विश्वास विभिन्न स्थानको अतिमानवीय तत्वमाथि विश्वासको सम्मिलित परिणाम हो भन्नुहुँदै यात्राका क्रममा बिरालो, स्याल, न्याउली मुसाले बाटो काट्यो भने यात्रा दुःखद् हुने घटना कतिपय सन्दर्भले प्रमाणित भएकाले यसको शोध आवश्यक भएको बताउनुहुन्छ ।

धाँमी, झाँक्री, टुनामुना, राँके, भूतप्रेत, बोक्सीजस्ता लोक विश्वास बुद्धिजीविद्वारा उब्जाइएको समस्या हो र राँके भूत गाडिएको शवबाट निस्केको एक प्रकारको ग्यास भएको धारणा पनि पाइन्छ । संस्कृतिविद् रामभरोस कापडी भ्रमर अशिक्षा, गरीबी, वैज्ञानिक र प्राविधिक विकासको अभाव, दमित मनोभावजन्य तनाव, बदलाको भावना, सामाजिक घृणा र आक्रोश लोक विश्वासको कारकतत्व हो भन्नुहुन्छ ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार बोक्सीविरूद्ध सबैभन्दा पहिला प्राचीन स्पेन र गाउलमा कानूनको निर्माण भयो । चार्ल म्याग्ने र अन्य शासक बोक्सी कर्मको निन्दा गर्दै यसलाई अन्धविश्वास ठहर गरी यस प्रकारको क्रियाकलापमा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्म दिने व्यवस्था गरेको पाइन्छ । नेपालमा लोक विश्वास सम्बन्धमा कुनै उल्लेखनीय शोध भएको छैन । मिथिला क्षेत्रमा बोक्सीको आरोप लगाई महिलालाई यातना दिइएको विरोधमा केही प्रयास भएको छ ।

महोत्तरी जिल्लाको सिमरदहीकाण्ड अन्तरराष्ट्रिय मुद्दा बन्यो । यसले जनतामा जनचेतनासमेत वृद्धि गरेको देखिन्छ । त्यस्तै धाँमी, झाँक्री, टुनामुना, भूतप्रेत, बोक्सीको कुनै मौलिक आधार नभएकाले भ्रम मात्र हो भन्ने कुरा विस्तारैविस्तारै प्रमाणित हुँदै आएको देखिएको छ । तापनि अक्षता फूलले क्यान्सरसम्मको उपचार गरी निको पारेको दाबी गर्ने तान्त्रिकले जनतालाई लुट्दै ज्यानसम्म लिने घटनामा कमी आएको छैन ।

मैथिल संस्कृतिअन्तर्गत मधुश्रावणी पर्वमा बत्तीले पोलेपछि जति ठूलो फोंका निस्किन्छ त्यक्ति नै दुलही भाग्यशाली हुने लोक विश्वास पनि पाइन्छ । अतःविद्वानको मत छ, “सांस्कृतिक परम्परा नदी झैँ प्रवाहशील र देशकाल पात्रअनुसार रूपान्तरण हुन नसकेमा सांस्कृतिक प्रगति नै अवरूद्ध हुन्छ, त्यसकारण मिथिलाको असामाजिक अन्धविश्वासलाई समाप्त गर्नु जरूरी छ ।”