काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीहरूको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।
लोकतान्त्रिक व्यवस्थामा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै उनले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए। मन्त्री र सांसदहरूबाटै उत्तेजक तथा धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक हुनु विधिको शासनमाथिको चुनौती भएको उनको भनाइ थियो।
थापाले विभिन्न माग राखेर आन्दोलनरत पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरे। लघुवित्त तथा सहकारी पीडित, शिक्षक, नर्स र चिकित्सकलगायतका विभिन्न समूहका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको उनको आरोप छ। सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन नगर्दा नागरिकको राज्यप्रतिको भरोसा कमजोर हुँदै जाने खतरा रहेको उनले औंल्याए।
उनले भने, *“लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो। तर वर्तमान सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ, जसका कारण शासकीय अराजकता निम्तिएको छ। प्रधानमन्त्रीले मन्त्रीहरूविना नै बैठक गर्ने र राज्यका महत्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहनुभएको छ। मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ। अहिले नागरिकहरूमा ठूलो आक्रोश छ। यस्तो बेला कांग्रेसले आन्दोलनमा घिउ थप्ने काम गर्दैन। हाम्रो मुख्य जिम्मेवारी भनेको नागरिकको भरोसा राज्यमाथि कायम राख्नु र सरकारलाई आफ्ना सम्झौताप्रति जवाफदेही बनाउनु हो।”*
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसले जिम्मेवार राजनीतिक दलका रूपमा सरकारलाई आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न र नागरिकप्रति उत्तरदायी बन्न निरन्तर दबाब दिने बताए।
कांग्रेसको मूल आदर्श नै विधिको शासन, लोकतान्त्रिक मूल्य र संविधानको संरक्षण रहेको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा जनताको विश्वास जोगाउने र लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए।
– न्युज एजेन्सी नेपाल











