१८ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ



अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता र वामपन्थी एकता गर्न हतार गर्न नहुने बताउनुभएको छ ।

सोमवार २४ औँ बोत्ले स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पर्याप्त बहस र छलफल नगरी वामपन्थी एकता गर्न नहुने बताउनुभएको हो ।

उहाँले पर्याप्त छलफल नगरिकनै एकताको बाटोमा गए २०७५ सालको तत्कालीन नेकपा एकीकरणजस्तै अवस्थामा पुगिने कुरामा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीको सिद्धान्त र विचार मिलेकै आधारमा एकता दीगो नहुने भन्दै व्यक्तिका इच्छा र चाहानामा समेत भर पर्ने बताउनु भयो । नेपालले व्यक्तिगत स्वार्थभन्दा सिद्धान्तनिष्ठ राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कम्युनिष्ट आन्दोलन जनवादी केन्द्रियताको सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले पार्टी कार्यकर्तालाई पनि जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्दै पदको आकांक्षाभन्दा संगठनप्रतिको दायित्वलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले कम्युनिष्ट दलहरुले चलाएका सरकारहरुको समेत समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्यगत एकता र वाम एकताको प्रश्तावहरु र कुराहरु चलिरहेका छन् । त्यसमा छलफल गरौँला । तर २०७५ सालमा गरेको एकताको जस्तै हालत नहोस्, देखिहाल्नुभयो । एकता गर्यो, फेरि २०७७ मा गएर उही हो । त्यसैले भनिन्छ, सोच विचार धेरै गर्नु । छलफल बहस धेरै गर्नु । विचारमा मात्र मिलेर हुँदो रहेनछ । मान्छेको चाहना कस्तो भन्ने कुरामा पनि भर पर्ने रहेछ । आफ्ना आफ्ना स्वार्थमा चलिरहेका हुन्छन् । त्यसो भएको हुनाले स्वार्थमा चलेर होइन, सिद्धान्तनिष्ट राजनीतिमा अगाडि बढ्नुपर्दछ । कम्युनिष्ट पार्टी चल्ने सिद्धान्त के हो ? जनवादी केन्द्रीयताको सिद्धान्तले मात्र कम्युनिष्ट आन्दोलन चल्नसक्छ । कार्यकर्ता धेरै छन् । म कार्यकर्तालाई पनि भन्न चाहान्छु । तपाईंहरुले आफ्नो जिम्मेवारी कति पूरा गर्नुभएको छ ? कि पदको निम्ति मरिहत्ते गर्नुहुन्छ । सबैले मनन गर्नू । जिम्मेवारी लिने र दिने कुरामा ढिलाई भएको छ भने त्यो कुरामा समेत ढिलाई नगरौँ । हामी चुनौतीको अवस्थामा छौँ । यो चुनौतीलाई सामना गर्नको लागि समयले हामीबाट अपेक्षा गरेको छ ।’

उहाँले पार्टी र मुलुक दुवै संकटको अवस्थामा रहेको भन्दै सबै एकतावद्ध भएर चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल