४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल प्रहरीले जाडोमा कपडा नपाउने

नेपाल प्रहरीले जाडोमा कपडा नपाउने
अ+ अ-

काठमाडौं । गत वर्ष प्रहरीले जाडोको कपडा गर्मी सुरु भएपछि पाए । जाडोभर हिमाली जिल्लामा आलोपालो ज्याकेट लगाएर ड्युटी गर्नुपर्ने अवस्था निम्तियो । समयमै कपडा खरिद नहुँदा गत वर्ष भोगेको समस्या प्रहरीमा यसपालि पनि निम्तिने भएको छ । प्रहरीले जाडो सकिएपछि मात्र ज्याकेटलगायत कपडा पाउने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सर्ट, पाइन्ट, ज्याकेटलगायत सामान खरिदको टेन्डर अघि बढाइसकेको छ । तर, टेन्डर प्रक्रिया लामो हुने भएकाले सामान आउन कम्तीमा फागुनसम्म लाग्ने देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार टेन्डर प्रस्तावहरू हाल मूल्यांकनको चरणमा छन्, सकिन अझै दुई हप्ता लाग्नेछ । टेन्डर निर्णय भए पनि सम्बन्धित कम्पनीले सामान ल्याउन तीन महिनाको समय पाउँछ ।

त्यसमा पनि उसले माग गरे तीन सातासम्मकोे समय दिनुपर्ने हुन्छ । सामान आएपछि पनि गुणस्तर परीक्षणका लागि दुई साता लाग्छ । यो प्रक्रियाअनुसार फागुनमा मात्र प्रहरीले सामान पाउँछ । यी सामान जिल्ला–जिल्लामा पुग्दासम्म गर्मी सुरु भइसक्छ । सार्वजनिक खरिद नियमावलीकै प्रावधानका कारण यस्तो अवस्था आएको प्रहरी अधिकारीहरू बताउँछन् । सुरक्षा निकायका लागि यसमा विशेष व्यवस्था हुनुपर्ने प्रहरीको माग छ ।

कपडालगायत स्केलका सामान कहिल्यै पूरा नपाइने गरेको गुनासो प्रहरीमा सुनिँदै आएको छ । हरेक वर्ष पाउनुपर्ने कटनका सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामानसमेत प्रहरीले नियमअनुसार पाउन सकेका छैनन् । कतिपयले त स्केलका सामानसमेत आफैँले खरिद गर्नुपर्ने अवस्था छ ।

टेन्डर प्रक्रिया सुरुमै विवादमा
केही ठेकेदारसँगको मिलेमतोमा ठेक्का दिन लागिएको भन्दै टेन्डर प्रक्रिया सुरुमै विवादमा परेको छ । गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेपछि प्रहरीको करिब ५० करोडको ठेक्का सुरुमै विवादमा परेको हो । प्रहरीसँगको मिलेमतोमा लागत मूल्यभन्दा १–२ रुपैयाँ मात्र कम दररेट राखेर सेटिङ मिलाइएको उजुरीमा उल्लेख छ । गोप्य रहने लागत मूल्य पहिले नै ठेकेदारलाई उपलब्ध गराएर अनियमितता भएको आशंका गरिएको छ ।

ठेक्कामा ६ वटा कम्पनीबीच ‘सेटिङ’ भएको भनेर आयोगमा उजुरी परेको स्रोत बताउँछ । जय सलिना इन्टरप्राइजेज, क्राउन टेक्सटाइल, प्लस पोइन्ट, अनिक ओभर्सिज, स्लोक इन्टरप्राइजेज, तेजसम इन्टरप्राइजेज कम्पनीलाई ठेक्का दिन लागिएको उजुरीमा उल्लेख छ । जय सालिना र प्लस पोइन्ट ज्ञानेन्द्र बस्नेतका कम्पनी हुन् । सोही कम्पनीले गत वर्ष पनि प्रहरीका ठूला ठेक्का पाएको थियो, जुन गुणस्तरहीन भएको प्रहरीमा गुनासो छ ।

‘जय सलिनाले डिएम बुट र चुस्ताको ठेक्का, रीतेश त्रिपाठीको श्लोक इन्टरप्राइजेजले कटन सर्ट, पीताम्बर मुन्काको क्राउनले कटन पाइन्ट, टोपेन्द्र बिसीको तेजसमले उलन सर्ट र उलन स्विटर पाउँदै छन्,’ उजुरीमा भनिएको छ, ‘यसरी मिलेमतोमा ठेक्का दिँदा प्रहरीको करिब १५ करोड रुपैयाँभन्दा धेरै बजेट खर्च हुन्छ ।’

नेपाल प्रहरीले गत २६ साउनमा चुस्ता, कटन सर्ट, कटन पाइन्ट, उलन सर्टसहित १४ किसिमका सामान खरिदका लागि टेन्डर आह्वान गरेको थियो । २४ भदौमा खोलिएको टेन्डरमा लागत अनुमानभन्दा तीन रुपैयाँदेखि पाँच रुपैयाँ कम अंक कबोल गर्ने बोलपत्रवालाले ठेक्का पाउने देखिएको छ । जब कि, गत दुई वर्षमा लागत अनुमानभन्दा तीनदेखि पाँच सय रुपैयाँ कम रकममा ठेक्का पाएका थिए ।

डिएमएस बुटको गत आर्थिक वर्ष ०७५/७६ मा टेन्डर हुँदा दुई हजार चार सय ८० रुपैयाँ लागत अनुमान रहेकोमा दुई हजार ९२ रुपैयाँ अर्थात् चार सय रुपैयाँ कममा टेन्डर परेको थियो । स्वच्छ प्रतिस्पर्धा हुँदा चार सय रुपैयाँ कममा डिएमएस बुट प्रहरीले खरिद गरेको थियो । तर, यसपटक लागत अनुमानभन्दा पाँच रुपैयाँ कम अंकमा टेन्डर परेको स्रोत बताउँछ ।

गत वर्षको जस्तै प्रतिस्पर्धा भएको भए २४ हजार डिएमएस बुटमा लगभग ९६ लाख कममा जुत्ता खरिद हुने देखिन्छ । तर, यो वर्ष मिलेमतोमा ठेक्का दिएर ९६ लाख बढी खर्च हुँदै छ । उलन पाइन्टको ठेक्का प्रतिमिटर एक हजार तीन सय २८ रुपैयाँ पेस गर्ने बोलपत्रदाता अनिक ओभरसिजलाई दिन लागिएको छ । जब कि, प्रहरीले गरेको बोलपत्रमा उलन पाइन्टको लागत अनुमान प्रतिमिटर एक हजार तीन सय ३१ रुपैयाँ राखिएको छ ।

उलन स्विटरको प्रतिथान एक हजार तीन सय दुई रुपैयाँ लागत अनुमान थियो । टोपेन्द्र बिसीको तेजसम इन्टरप्राइजेजले प्रतिथान एक हजार दुई सय ९७ रुपैयाँमा टेन्डर दिन मिलेमतो गरिएको स्रोत बताउँछ । यसमा लागत अनुमानभन्दा पाँच रुपैयाँ कममा मात्र बोलपत्र पेस गरेको तेजसमलाई ठेक्का दिइएको छ ।

पन्चुको प्रतिथान दुई हजार दुई सय २३ रुपैयाँ लागत अनुमान राखिएकोमा दुई हजार दुई सय २० रुपैयाँमा ठेक्का दिइएको छ । पन्चुको प्रतिथान तीन रुपैयाँ कममा टेन्डर हाल्ने तेजसमलाई ठेक्का दिइएको छ । झुलमा प्रतिथान पाँच सय २८ रुपैयाँ ८४ पैसा लागत अनुमान राखिएकोमा पाँच सय २५ रुपैयाँ पेस गरेको कम्पनीलाई ठेक्का दिइएको छ । यसमा पनि तीन रुपैयाँ मात्र कम छ ।

सबै ठेक्का लागत अनुमानबराबर नै भएकाले सामान खरिदमा १५ करोडभन्दा धेरै अतिरिक्त खर्च हुने देखिएको हो । टेन्डर प्रक्रिया नै रोक्न माग गर्दै केही ठेकेदारले गृह मन्त्रालयमा समेत उजुरी गरिसकेका छन् ।

गुणस्तरमा सधैँ समस्या
कपडा, जुत्तालगायत सामान सधैँ कमसल खरिद हुने गरेको गुनासो प्रहरीमा छ । ड्रेस केही महिनामै खुइलिने तथा जुत्ता ५–६ महिनामै फाट्ने गरेका छन् । ‘१० जना प्रहरीलाई उभ्यायो भने १० थरी देखिन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘त्यहीँबाट प्रहरीको पोसाक खरिदमा हुने अनियमितता प्रस्ट हुन्छ ।’

ठेक्कामा हुने चलखेलकै कारण यसरी कमसल सामान खरिद हुने गरेको छ । गुणस्तर कायम राख्न सामानको नमुना परीक्षण गरिन्छ । तर, परीक्षण गर्दा एउटा र सामान दिँदा अर्को गुणस्तरको दिने गरिएको स्रोत बताउँछ । यसकारण प्रहरीको खरिद हरेक वर्ष विवादमा पर्ने गरेको छ ।

सामान आएपछि भारतमा गुणस्तर परीक्षण हुन्छ । भारतका निजी कम्पनीमा गुणस्तर परीक्षण हुने भएकाले प्रश्न उठ्ने गरेको छ । नेपालको गुणस्तर तथा नापतौल विभागले सबै सामानको गुणस्तर परीक्षण गर्न नसक्ने भएकाले भारत पठाउनुपरेको एसएसपी दीपक थापा बताउँछन् । स्रोतका अनुसार गुणस्तर परीक्षणका लागि ठेकदार आफैँ जाने गरेका छन् ।

ठेकेदारले प्रहरीलाई बुझाएका सामानमध्येबाट जुनसुकै पिस छानेर गुणस्तर परीक्षण गर्न पठाउनुपर्ने कानुनी व्यवस्था छ । गुणस्तर परीक्षणमा निष्पक्षता नहुँदा पनि प्रहरीले गुणस्तरीय कपडा तथा जुत्ता लगाउन पाइरहेका छैनन् । समाचार नयाँ पत्रिका दैनिकबाट